एउटै एआई कम्पनीमा पूर्ण रूपमा निर्भर रहने व्यवसायहरू भविष्यमा टिक्न सक्दैनन्: माइक्रोसफ्ट सीईओ नाडेला

  • Technology Khabar | १३ श्रावण २०८३, बुधबार
एउटै एआई कम्पनीमा पूर्ण रूपमा निर्भर रहने व्यवसायहरू भविष्यमा टिक्न सक्दैनन्: माइक्रोसफ्ट सीईओ नाडेला
फाइल तस्बिर

काठमाडौं ।

माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सत्य नाडेलाले आफ्ना सबै एआई आवश्यकताका लागि एउटै एआई कम्पनीमा पूर्ण रूपमा निर्भर रहने व्यवसायहरू भविष्यमा टिक्न नसक्ने चेतावनी दिएका छन्।

आइतबार सीएनएनको “फरिद जकारिया जीपीएस” कार्यक्रममा बोल्दै नाडेलाले कम्पनीहरूले आफ्नो डाटा र एआईमा पठाइने प्रम्प्टजस्ता जानकारीबारे विशेष सावधानी अपनाउनुपर्ने बताए।

टेकक्रञ्चका अनुसार उनले कम्पनीहरूले एआई प्रयोग गर्दा त्यससँग सम्बन्धित सबै मेटाडाटा आफैंसँग सुरक्षित राख्ने व्यवस्था हुनुपर्ने बताए, ताकि भविष्यमा त्यसैका आधारमा आफ्नै एआई मोडेल वा खुला मोडेललाई तालिम दिन सकियोस्।

जुन कम्पनीसँग यस्तो नियन्त्रण हुँदैन, त्यो कम्पनी दीर्घकालसम्म टिक्न सक्दैन, किनभने उसले आफ्नो सोच्ने क्षमता नै बाहिर सुम्पिएको हुन्छ,” नाडेलाले भने।

उनका अनुसार कम्पनीहरूले आफ्नै एआई मोडेल विकास गर्न नसके पनि कम्तीमा एआई गेटवे जस्ता पूर्वाधार प्रयोग गर्नुपर्छ, जसले कम्पनीका प्रम्प्ट र डाटा एआई मोडेलबाट अलग राख्न मद्दत गर्छ।

नाडेलाले कम्पनीहरूलाई एआई कम्पनीहरूले उपलब्ध गराउने बिल्टइन कोडिङ उपकरणमा पनि अत्यधिक निर्भर नहुन आग्रह गरे। यस्ता उपकरणमा एन्थ्रोपिकको क्लाउड कोड र ओपनएआईको च्याटजीपीटी कोडेक्स पर्छन्।

उनले मोडेल, कन्टेक्स्ट, मेमोरी र कोडिङ प्रणालीलाई अलग राखेमा आवश्यकताअनुसार विभिन्न एआई मोडेल प्रयोग गर्न सकिने र कुनै एउटा मोडेल उपलब्ध नभए पनि कम्पनीले आफ्नो नियन्त्रण कायम राख्न सक्ने बताए।

माइक्रोसफ्ट एन्थ्रोपिक र ओपनएआई दुवैमा लगानीकर्ता भए पनि नाडेलाले कम्पनीहरूलाई एउटै एआई प्रदायकमा निर्भर नहुन सुझाव दिएका हुन्। माइक्रोसफ्टले अहिले यस्तै वैकल्पिक एआई पूर्वाधारसमेत आफ्नो क्लाउड सेवामार्फत उपलब्ध गराइरहेको छ।

हाल धेरै कम्पनीहरू सस्तो विकल्प खोज्दै खुला मोडेलतर्फ आकर्षित भइरहेका छन्। यस्ता मोडेललाई आफ्नै हार्डवेयरमा चलाउन र आवश्यकता अनुसार परिमार्जन गर्न सकिन्छ। यसका लागि विभिन्न एआई मोडेल र तिनका कोडिङ एजेन्ट व्यवस्थापन गर्ने प्रणालीको आवश्यकता पर्ने विश्लेषण गरिएको छ।

नाडेलाका अनुसार यदि कुनै कम्पनीले आफ्नो सोच्ने प्रक्रिया नै एआई मोडेलमा निर्भर बनायो भने भविष्यमा त्यही एआई कम्पनीले प्रतिस्पर्धी सेवा ल्याएर जोखिम सिर्जना गर्न सक्छ। कम्पनीहरूले एआई एजेन्टलाई आफ्ना आन्तरिक प्रणालीमा पहुँच दिन थालेपछि यस्तो जोखिम अझ बढ्न सक्ने उनले बताए।

ओपनएआईका प्रमुख कार्यकारी अधिकृत स्याम अल्टम्यानले मे महिनामा वाई कम्बिनेटरका स्टार्टअपहरूलाई एआई क्रेडिट दिने प्रस्ताव गरेपछि लगानीकर्ता जेसन क्यालाकानिसले पनि स्टार्टअपहरूले सावधानी अपनाउनुपर्ने चेतावनी दिएका थिए।

उनका अनुसार एआई कम्पनीहरूले स्टार्टअपको काम अध्ययन गरेर त्यही सुविधा आफ्नै निःशुल्क सेवामा समावेश गर्न सक्ने जोखिम रहन्छ।

यद्यपि नाडेलाले व्यवसायका लागि दिएको यो चेतावनी व्यक्तिगत प्रयोगकर्तामा भने लागू नहुने बताए। उनका अनुसार निःशुल्क सेवा प्रयोग गर्दा उपभोक्ताले आफ्नो डाटा साटासाट गर्नु विज्ञापनमा आधारित सेवाको सामान्य अभ्यास हो।

प्रकाशित: १३ श्रावण २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार