अब डिजिटल वालेट ग्राहकले पनि राष्ट्रिय परिचयपत्र अनिवार्य रुपमा अपडेट गर्नुपर्ने

  • Technology Khabar | १० श्रावण २०८३, आईतवार
अब डिजिटल वालेट ग्राहकले पनि राष्ट्रिय परिचयपत्र अनिवार्य रुपमा अपडेट गर्नुपर्ने
एआईमार्फत् बनाइएको सांकेतिक तस्बिर

काठमाडौं ।

अब डिजिटल वालेट ग्राहकले पनि अब राष्ट्रिय परिचयपत्र अनिवार्य रुपमा अपडेट गर्नुपर्ने भएको छ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले हालै एक सूचना जारी गरी ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२’ को १५औँ संशोधनमार्फत वालेट खोल्दा तथा सञ्चालन गर्दा राष्ट्रिय परिचयपत्रको विवरण समावेश गर्नुपर्ने व्यवस्था गरेको हो।

यस हिसाबले पुराना बैंक खातामा समेत राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारीमा रहेको नेपाल राष्ट्र बैंकले अब डिजिटल वालेट प्रयोगकर्ताका लागि पनि राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य बनाउने निश्चित भएको छ।

राष्ट्रबैंकले हाल उपलब्ध नरहेको अ प्रा निर्देशन १५/०८२ को १ को उपबुँदा नं १५ थप गरी यस्तो प्रावधान राखिएको हो। उक्त उपबुँदामा क देखि च सम्म समावेश छन्।

त्यस अनुसार अबदेखि भुक्तानी सेवा प्रदायकको अनुमतिपत्रप्राप्त संस्थाले नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेख अनुसार राष्ट्रिय परिचयपत्रको विवरण समेत यकीन गरी वालेट खोल्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्था गरिएको छ।

यस्लै अनुमतिपत्रप्राप्त संस्थाले २०८३ असोजमसान्त भित्र मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्रको विवरण भए/नभएको स्वः घोषणा लिनुपर्ने उल्लेख छ।

राष्ट्रिय परिचयपत्र लिएका नेपाली नागरिकको हकमा २०८३ असोज मसान्तभित्र मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट सम्बन्धित वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्ने अनिवार्य गरिएको छ।

राष्ट्रिय परिचयपत्र लिई नसकेका नेपाली नागरिकको हकमा भने राष्ट्रिय परिचयपत्र लिई ग्राहक पहिचान अद्यावधिक गर्न सम्बन्धित वालेट प्रयोगकर्तालाई मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट प्रत्येक महिनामा जानकारी दिने व्यवस्था मिलाउनुपर्नेछ।

विदेशमा बसोबास गरिरहेका नेपालीले उतैबाट वालेट खोल्न सक्ने

नयाँ व्यवस्था अनुसार विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइनमार्फत् विद्युतीय वालेट खोल्नु पर्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात लिएर समेत वालेट खोल्न सक्नेछन्।

तर यसरी खोलिने वालेटका सम्बन्धमा वालेट प्रयोगकर्ता नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित अनुमतिपत्रप्राप्त संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिई अद्यावधिक भने गर्नुपर्नेछ।

आफ्नो हेरचाह आफै गर्न नसक्ने, अशक्त तथा असहाय नागरिकको हकमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात संलग्न गरेर समेत वालेट खोल्न र कारोबार गर्न सकिने प्रावधान राखिएको छ।

प्रकाशित: १० श्रावण २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार