काठमाडौं ।
युरोपेली संघ (ईयू) का नियामकहरूले शुक्रबार बाइटडान्सको सामाजिक सञ्जाल टिकटकमाथि बालबालिकालाई यौन शोषणकर्ता वा साइबर बुलिङको जोखिममा पार्न सक्ने डिजाइन प्रयोग गरेको आरोप लगाएका छन्। यससँगै कम्पनीमाथि ठूलो जरिवाना लाग्ने सम्भावना पनि बढेको छ।
यी आरोपहरू डिजिटल सर्भिसेज ऐन (डीएसए) अन्तर्गत जारी गरिएको प्रारम्भिक निष्कर्ष हुन्। उक्त ऐनले ठूला प्रविधि कम्पनीहरूलाई गैरकानुनी तथा हानिकारक सामग्री नियन्त्रण गर्न थप जिम्मेवार बनाएको छ। पछिल्ला दुई वर्षमा टिकटकविरुद्ध यो चौथो पटक यस्तो आरोप लगाइएको हो।
ईयूको प्रविधि नियामकका रूपमा रहेको युरोपेली आयोगले टिकटकका खाता सुरक्षा मापदण्ड डीएसएको आवश्यकताअनुसार नभएको जनाएको छ।
आयोगका अनुसार टिकटकले बालबालिकालाई आफ्नो खाता सार्वजनिक बनाउन अनुमति दिने भएकाले अन्य व्यक्तिले उनीहरूको सामग्री हेर्न सक्ने र उनीहरू साइबर बुलिङ वा दुर्व्यवहार गर्ने व्यक्तिको सम्पर्कमा पुग्ने जोखिम बढ्छ।
रोयटर्सका अनुसार आयोगले निजी खाता पनि पूर्ण रूपमा सुरक्षित नरहेको जनाएको छ। आयोगका अनुसार अन्य प्रयोगकर्ताको ‘फलोइङ’ र ‘फलोअर्स’ सूचीमार्फत टिकटक खाता नभएका व्यक्तिले समेत बालबालिकाको खाता सजिलै फेला पार्न सक्छन्।
आयोगले टिकटकले बालबालिकाका सार्वजनिक खाताको पूर्वनिर्धारित सेटिङ परिवर्तन गरी उनीहरूको सामग्री उनीहरूले अनुमति दिएका टिकटक प्रयोगकर्ताले मात्र हेर्न सक्ने व्यवस्था गर्नुपर्ने बताएको छ।
टिकटकले ईयूको प्रारम्भिक निष्कर्षको समीक्षा गर्ने र नियामकसँग रचनात्मक रूपमा सहकार्य गर्ने जनाएको छ।
कम्पनीका अनुसार टिकटकमा किशोर प्रयोगकर्ताका खातामा सुरुदेखि नै विशेषज्ञहरूको सुझावका आधारमा ५० भन्दा बढी गोपनीयता र सुरक्षा सुविधा उपलब्ध छन्।
टिकटकले १८ वर्षमुनिका प्रयोगकर्ताका खाता पूर्वनिर्धारित रूपमा निजी रहने र कम उमेरका किशोरले प्रत्यक्ष सन्देश (डाइरेक्ट मेसेज) प्रयोग गर्न वा उनीहरूको सामग्री ‘फर यू’ फिडमा देखिने सुविधा नपाउने जनाएको छ।
अब टिकटकले आयोगका कागजात अध्ययन गरी आफ्नो जवाफ पेश गर्न सक्नेछ। त्यसपछि आयोगले अन्तिम निर्णय गर्नेछ, जसमा कम्पनीको वार्षिक विश्वव्यापी कारोबारको ६ प्रतिशतसम्म जरिवाना हुन सक्नेछ।
ईयूकी प्रविधि प्रमुख हेन्ना भिर्कुनेनले डिजिटल सर्भिसेज ऐनले बालबालिकाको सुरक्षा सेवा डिजाइनकै भाग हुनुपर्ने व्यवस्था गरेको बताइन्। उनका अनुसार उच्च स्तरको सुरक्षा प्रयोगकर्ताले आफैं रोज्नुपर्ने विकल्प नभई पूर्वनिर्धारित रूपमा उपलब्ध हुनुपर्छ।
यसअघि टिकटकले दुई वटा मुद्दामा जरिवाना टार्न नियामकसँग केही प्रतिबद्धता जनाएको थियो भने तेस्रो मुद्दाको अनुसन्धान अझै जारी छ।
प्रकाशित: ९ श्रावण २०८३, शनिबार