काठमाडौं ।
एनभिडियाले बिहीबार जापानका फानुक र यास्कावा इलेक्ट्रिकलगायत कम्पनीहरूसँग रोबोटिक्स र कृत्रिम बुद्धिमत्ता (एआई) को विकासलाई अघि बढाउन साझेदारी गरेको जनाएको छ।
टोकियोमा आयोजित एक कार्यक्रममा एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङले भने, “एआईका कारण रोबोटहरू स्मार्ट, सजिलै अनुकूलन गर्न सकिने र सबैका लागि पहुँचयोग्य बन्नेछन्।”
नोएट्राले फिजिकल एआई विकासका लागि एनभिडियाका २७,५०० रुबिन चिप खरिद गर्ने जनाएको छ। कम्पनीले सन् २०२७ को अप्रिलदेखि निर्माण कार्य सुरु गरी त्यसको अर्को वर्ष जुनदेखि सञ्चालनमा ल्याउने योजना बनाएको छ।
ह्वाङले जापानले “फिजिकल एआई” नामक नयाँ प्रविधि गुमाइरहेको टिप्पणी गर्दै यही प्रविधिले भविष्यको औद्योगिक विकासलाई अघि बढाउने बताए।
ह्वाङ ताइवानमा रकस्टारसरह लोकप्रिय छन् भने जापानमा पनि उनको भ्रमणले व्यापक चासो उत्पन्न गरेको छ। जापान चिप आपूर्ति शृङ्खलाका प्रमुख कम्पनीहरूको केन्द्र मानिन्छ।
बुधबार ह्वाङले टोकियोको आकिहाबारा इलेक्ट्रोनिक्स क्षेत्रमा गेमिङ कम्पनी सेगा स्यामीले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए। त्यसपछि उनले जापानी “इजाकाया” पबमा रात्रिभोज गरेका थिए।
रोयटर्सका अनुसार टोकियोको गर्मीका बीच पनि आफ्नो पहिचान बनेको छालाको ज्याकेट लगाएका ह्वाङले रेस्टुरेन्ट बाहिर सञ्चारकर्मी र सर्वसाधारणलाई रोटी र चिया वितरण गरेका थिए। उनी चिप निर्माता किओक्सिया र उपकरण निर्माता टोकियो इलेक्ट्रोनका प्रमुख कार्यकारीहरूसँग पनि देखिएका थिए।
सेगा कार्यक्रम बाहिर भेटिएका ५७ वर्षीय ताइवानी पर्यटक चाङ हुई-यूले, “मलाई लाग्छ, उनी पृथ्वीका सबैभन्दा प्रभावशाली व्यक्ति हुन्,” भने।
टोकियोमा बसोबास गर्ने ३७ वर्षीय ताइवानी ब्रायन याङले, “जेन्सेन ह्वाङलाई पहिलो पटक प्रत्यक्ष देख्न पाउँदा म निकै उत्साहित भएँ,” भने।
सन् १९८० को दशकयता चिप उत्पादनमा जापानको विश्व बजार हिस्सा घटेको भए पनि सामग्री र उत्पादन उपकरणका धेरै क्षेत्रमा उसले अझै अग्रस्थान कायम राखेको छ।
लगानीकर्ताहरू एआईमा भइरहेको लगानी चक्रको मजबुतीको मूल्याङ्कन गरिरहेका छन्। चिप निर्माण उपकरण निर्माता एएसएमएलले बुधबार आफ्नो बिक्री पूर्वानुमान बढाउनुका साथै उत्पादन क्षमता विस्तार गर्ने प्रतिबद्धता जनाएको थियो।
विश्वकै अग्रणी ठेक्का चिप निर्माता टीएसएमसीले बिहीबार कीर्तिमानी आम्दानी सार्वजनिक गर्दै आफ्नो पूँजीगत खर्चको पूर्वानुमान पनि बढाएको छ।
प्रकाशित: ४ श्रावण २०८३, सोमबार