भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनःसञ्चालन

  • Technology Khabar | ३ श्रावण २०८३, आईतवार
भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनःसञ्चालन
सांकेतिक/फाइल तस्बिर

काठमाडौं ।

चितवनको भरतपुर अस्पतालमा प्राविधिक समस्याका कारण अवरुद्ध रहेको सिटी स्क्यान सेवा पुनःनियमित रूपमा सुरु गरिएको छ। सिटी स्क्यान बिग्रिएपछि बिरामीलाई स्वास्थ्य बिमाको शुल्कमा निजी अस्पतालबाट सेवा दिइँदै आएको थियो।

अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलका अनुसार नौ वर्ष पुरानो सिटी स्क्यान उपकरणको एक्स-रे ट्युब बिग्रिएपछि असार ७ गतेदेखि सेवा अवरुद्ध भएको थियो।

उक्त उपकरण खरिद सम्झौताअनुसार सम्बन्धित कम्पनीले नेदरल्याण्डबाट नयाँ एक्स-रे ट्युब ल्याएर जडान गरेपछि सेवा पुनः नियमित रूपमा सञ्चालनमा आएको उहाँले जानकारी दिए।

सेवा अवरुद्ध रहेकै अवधिमा बिरामीलाई समस्या नहोस् भन्ने उद्देश्यले अस्पतालले गत असार १० गतेदेखि निजी अस्पताल समन्वय समिति (अफिन) चितवनसँग समन्वय गरी सिटी स्क्यान सेवालाई निरन्तरता दिँदै आएको थियो। अस्पतालका अनुसार दैनिक करिब ५० जना बिरामीले सिटी स्क्यान सेवा लिने गरेका छन्।

यसैबीच, अस्पतालले दूरबिन (ल्यापारोस्कोपिक) तथा चिरफार (ओपन) विधिबाट गरिने पित्तथैली निकाल्ने शल्यक्रिया (कोलेसिस्टेक्टोमी) को पालो व्यवस्थापनमा पनि परिवर्तन गरेको छ।

अस्पतालका प्रवक्ता एवं सहप्राध्यापक डा रामप्रसाद सापकोटाका अनुसार तोकिएको समयभन्दा अगावै शल्यक्रिया सम्पन्न गराउने उद्देश्यले शल्यक्रियाको तालिका हेरफेर गरिएको हो।

विसं २०८३ को माघ महिनाभन्दा पछाडिको मितिमा शल्यक्रियाको पालो पाएका सेवाग्राही तथा बिरामीलाई अस्पतालमा सम्पर्क गर्न अनुरोध गरिएको उनले बताए। उनले अस्पतालसँग सम्पर्क गरी नयाँ शल्यक्रियाको मिति सुनिश्चित गर्न सम्बन्धित बिरामीलाई आग्रह गरे।

प्रकाशित: ३ श्रावण २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार