क्लियरिङ हाउसको प्रणालीमार्फत् डिजिटल भुक्तानी गर्दा अब कति शुल्क लाग्छ? सार्वजनिक भयो नयाँ सूची

  • Technology Khabar | ३ श्रावण २०८३, आईतवार
क्लियरिङ हाउसको प्रणालीमार्फत् डिजिटल भुक्तानी गर्दा अब कति शुल्क लाग्छ? सार्वजनिक भयो नयाँ सूची

काठमाडौं ।

डिजिटल भुक्तानी प्रणाली सञ्चालन गर्ने नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्ना विभिन्न भुक्तानी प्रणालीमार्फत हुने कारोबारमा लाग्ने सेवा शुल्कको विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको सूचीअनुसार शुल्क कारोबारको रकम, प्रयोग गरिएको प्रणाली र सेवाको प्रकारअनुसार फरक–फरक हुनेछ।

एनसीएचएल-ईसीसी (विद्युतीय चेक क्लियरिङ) अन्तर्गत नेपाली मुद्राको नियमित चेक क्लियरिङमा ५०० रुपैयाँसम्मको कारोबार निःशुल्क हुनेछ। ५०० रुपैयाँदेखि ५० हजार रुपैयाँसम्मको कारोबारमा ५ रुपैयाँ, ५० हजारदेखि २ लाख रुपैयाँसम्म १० रुपैयाँ र २ लाख रुपैयाँभन्दा माथिको कारोबारमा १५ रुपैयाँ शुल्क लाग्नेछ।

विदेशी मुद्राको नियमित चेक क्लियरिङमा प्रति कारोबार १५ रुपैयाँ शुल्क तोकिएको छ। यस्तै, एक्सप्रेस तथा हाई–भ्यालु चेक क्लियरिङका लागि प्रति कारोबार १०० रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरिएको छ।

एनसीएचएल-आईपीएस (अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली) मार्फत नेपाली मुद्रामा ५०० रुपैयाँसम्मको कारोबारमा २ रुपैयाँ, ५०० रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म ५ रुपैयाँ र ५० हजार रुपैयाँभन्दा माथिको कारोबारमा १० रुपैयाँ शुल्क लाग्नेछ। विदेशी मुद्राको कारोबारमा भने प्रति कारोबार १० रुपैयाँ शुल्क लाग्नेछ।

कनेक्टआईपीएस रिटेल पेमेन्ट स्विच मार्फत हुने फण्ड ट्रान्सफरमा मोबाइल बैंकिङ तथा कनेक्टआईपीएस एप वा वेबबाट ५०० रुपैयाँसम्मको कारोबार निःशुल्क हुनेछ। ५०० रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म ४ रुपैयाँ र ५ हजार रुपैयाँभन्दा माथिको कारोबारमा ८ रुपैयाँ शुल्क लाग्नेछ।

अन्य सबै च्यानलबाट हुने फण्ड ट्रान्सफर तथा क्रेडिटर/मर्चेन्ट भुक्तानीमा ५०० रुपैयाँसम्म २ रुपैयाँ, ५०० रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म ४ रुपैयाँ र ५ हजार रुपैयाँभन्दा माथि ८ रुपैयाँ शुल्क लाग्नेछ।

सरकारी राजस्व भुक्तानीतर्फ १० हजार रुपैयाँसम्मको कारोबारमा २ रुपैयाँ र १० हजार रुपैयाँभन्दा माथिको कारोबारमा ५ रुपैयाँ शुल्क तोकिएको छ।

एनसीएचएलका अनुसार आइडीजीआई रिफन्ड तथा लाभांश भुक्तानीको ५०० रुपैयाँसम्मको कारोबारमा कुनै शुल्क लाग्ने छैन। यस्तै, सेवा प्रदायकले शुल्क व्यहोर्ने कारोबारमा पनि ग्राहकबाट शुल्क नलिइने जनाएको छ।

कम्पनीले यी शुल्क सदस्य बैंक तथा वित्तीय संस्थाबाट असुल गरिने भएकाले ग्राहकबाट वास्तविक रूपमा कति शुल्क लिने भन्ने विषय सम्बन्धित बैंक वा वित्तीय संस्थाको नीतिअनुसार फरक हुन सक्ने जनाएको छ। साथै, सरकारले भ्याट छुट सूचीमा राखेका भुक्तानी सेवामा माथि उल्लेखित शुल्कमा भ्याट पनि नलाग्ने उल्लेख गरिएको छ।

प्रकाशित: ३ श्रावण २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...