काठमाडौं ।
युरोपेली संघ (ईयू) ले गुगललाई एन्ड्रोइड प्रणाली खुला बनाउन र सर्चसम्बन्धी डाटा अन्य कम्पनीसँग साझेदारी गर्न आदेश दिएको छ।
ईयूको डिजिटल मार्केट्स एक्ट (डीएमए) अन्तर्गत जारी गरिएको नयाँ नियमअनुसार गुगलले तेस्रो पक्षका सर्च इन्जिनलाई सर्चसम्बन्धी डाटा उपलब्ध गराउनुपर्नेछ भने प्रतिस्पर्धी एआई कम्पनीहरूलाई एन्ड्रोइडका विभिन्न सुविधामा पहुँच दिनुपर्नेछ।
ईयूका अनुसार यी उपायहरूको उद्देश्य गुगलको आफ्नै एआई सेवा जेमिनीसँग प्रतिस्पर्धा गर्न अन्य एआई कम्पनीलाई एन्ड्रोइड उपकरणका सुविधामा समान पहुँच उपलब्ध गराउनु र गुगल सर्चले ठूलो मात्रामा संकलन गर्ने खोज डाटा अन्य सर्च इन्जिनलाई उपलब्ध गराएर प्रतिस्पर्धालाई सन्तुलित बनाउनु हो।
टेलिकम्स डटकमले उल्लेख गरे अनुसार हाल प्रतिस्पर्धी कम्पनीहरूले गुगल एन्ड्रोइड अपरेटिङ सिस्टमका केही सुविधामा मात्र सीमित पहुँच पाउने भएकाले उनीहरूले आफ्ना सेवा प्रभावकारी रूपमा उपलब्ध गराउन नसक्ने र प्रयोगकर्ताका लागि कम आकर्षक हुने ईयूको दावी छ।
नयाँ नियमअनुसार प्रयोगकर्ताले आफूले रोजेको एआई सहायकलाई भ्वाइस कमाण्डमार्फत सक्रिय गर्न सक्नेछन्। साथै तेस्रो पक्षका एआई सहायकले एपभित्र ट्याक्सी बुक गर्ने, च्याट एपमा जवाफ सुझाव दिने वा हालै भ्रमण गरेको स्थानबारे जानकारी दिने जस्ता काम पनि गर्न सक्नेछन्।
सर्चसम्बन्धी निर्णयमा गुगलले अन्य सर्च इन्जिनसँग सर्च डाटा साझेदारी गर्नुपर्ने उल्लेख गरिएको छ। ईयूका अनुसार यस्तो डाटा साझेदारीले तेस्रो पक्षका सर्च इन्जिनको विकास र सुधारमा सहयोग पुर्याउने, गुगल सर्चसँग समान प्रतिस्पर्धा गर्न मद्दत गर्ने तथा गोपनीयतामा केन्द्रित नयाँ सर्च सेवाको विकासलाई प्रोत्साहन गर्नेछ।
उदाहरणका रूपमा सर्च सुविधा भएका एआई च्याटबोटहरूले पनि साझा गरिएको डाटा प्रयोग गर्न सक्नेछन्। गुगलले आफ्नै सर्च सेवा सुधारका लागि प्रयोग गर्ने डाटा आवश्यक गोपनीयता संरक्षणका उपाय अपनाएर अन्य कम्पनीसँग पनि साझेदारी गर्नुपर्नेछ।
ईयूले साझा गरिने डाटाको मूल्य निर्धारणका लागि निष्पक्ष विधि र डाटा प्राप्त गर्ने पारदर्शी प्रक्रिया पनि तय गरिएको जनाएको छ।
ईयूका अनुसार यी उपायले यूरोपेली प्रयोगकर्तालाई एन्ड्रोइडमा एआई सेवा र सर्च सेवाका थप विकल्प उपलब्ध गराउने लक्ष्य राखेका छन्।
यूरोपेली आयोगले यी निर्णय कानुनी रूपमा बाध्यकारी भएको जनाएको छ। गुगलले जनवरी २०२७ देखि योग्य सर्च इन्जिन प्रदायकसँग सर्च डाटा साझेदारी सुरु गर्नुपर्नेछ भने जुलाई २०२७ देखि प्रयोगकर्ताले एन्ड्रोइडमा भएका परिवर्तनको लाभ लिन थाल्नेछन्।
स्वच्छ, न्यायपूर्ण तथा प्रतिस्पर्धी रूपान्तरणसम्बन्धी कार्यकारी उपाध्यक्ष तेरेसा रिबेराले समाज तीव्र डिजिटल रूपान्तरणको चरणमा रहेको भन्दै यो प्रक्रिया निष्पक्ष हुनुपर्ने र नागरिकलाई विकल्प उपलब्ध गराउनुपर्ने बताइन्। उनका अनुसार यस निर्णयले साना प्रतिस्पर्धी, सर्च इन्जिन र एआई सहायकलाई प्रयोगकर्ताको गोपनीयता सुरक्षित राख्दै प्रतिस्पर्धा गर्न सहयोग गर्नेछ।
प्रविधि सार्वभौमिकता, सुरक्षा तथा लोकतन्त्रसम्बन्धी कार्यकारी उपाध्यक्ष हेन्ना भिर्क्कुनेनले यी उपायले यूरोपेली संघमा नवप्रवर्तन र विविधतालाई प्रोत्साहन गर्ने तथा एन्ड्रोइडका एआई सहायक र सर्च इन्जिन बजारमा निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्ने बताइन्।
उनका अनुसार यसबाट गुगल सर्च र जेमिनीजस्ता सेवाका नयाँ विकल्प विकास हुने अपेक्षा गरिएको छ र यसले प्रयोगकर्तालाई थप सेवा छनोट गर्ने अवसर दिनेछ।
ईयूले यसअघि पनि गुगलसहित केही ठूला अमेरिकी प्रविधि कम्पनीलाई डिजिटल बजारमा ‘गेटकिपर’ घोषणा गर्दै विभिन्न नियम लागू गरेको थियो। ईयूका अनुसार यस्ता कम्पनीहरूले व्यवसाय र उपभोक्ताबीच महत्वपूर्ण पहुँच नियन्त्रण गर्ने भएकाले डिजिटल अर्थतन्त्रमा अवरोध सिर्जना गर्ने क्षमता राख्छन्।
ईयूले भविष्यमा पनि अमेरिकी ठूला प्रविधि कम्पनीहरूका लागि यस्तै प्रकारका थप नियम लागू गर्ने संकेत दिएको छ।
प्रकाशित: २ श्रावण २०८३, शनिबार