माइक्रोसफ्टका सीईओ सत्या नाडेलाले एआई प्रयोग गर्ने कम्पनीहरूलाई किन दिए यस्तो चेतावनी?

  • Technology Khabar | ३१ असार २०८३, बुधबार
माइक्रोसफ्टका सीईओ सत्या नाडेलाले एआई प्रयोग गर्ने कम्पनीहरूलाई किन दिए यस्तो चेतावनी?

काठमाडौं ।

माइक्रोसफ्टका सीईओ सत्या नाडेलाले एआई प्रयोग गर्ने कम्पनीहरूलाई आफ्ना संवेदनशील व्यावसायिक जानकारी सुरक्षित राख्न चेतावनी दिएका छन्।

आइतबार प्रकाशित आफ्नो ब्लगमा नडेलाले ओपनएआई र एन्थ्रोपिकजस्ता कम्पनीका स्वामित्वयुक्त (प्रोप्राइटरी) एआई मोडल प्रयोग गर्ने संस्थाले दुई पटक मूल्य चुकाइरहेको बताएका छन्।

उनका अनुसार कम्पनीहरूले एकातिर एआई प्रयोगका लागि पैसा तिर्छन् भने अर्कोतर्फ मोडललाई प्रभावकारी बनाउन आफ्ना महत्वपूर्ण व्यावसायिक जानकारी पनि उपलब्ध गराउँछन्।

नडेलाले कम्पनीहरूले एआईलाई जति धेरै जानकारी उपलब्ध गराउँछन्, मोडलले उनीहरूको व्यवसायबारे त्यति धेरै सिक्ने बताए। उनका अनुसार प्रयोगकर्ताले दिने निर्देशन (प्रम्प्ट), एआई एजेन्टले प्रयोग गर्ने उपकरण र एआईले गल्ती गर्दा गरिने सुधारबाट मोडलले संस्थागत ज्ञान सिक्ने गर्छ।

उनले यस्तो ज्ञान प्रतिस्पर्धीले सहजै प्राप्त गर्न नसक्ने भए पनि कम्पनीहरूले आफैं एआई प्रदायकलाई उपलब्ध गराइरहेको उल्लेख गरेका छन्।
नडेलाले एआई कम्पनीहरूले सार्वजनिक इन्टरनेटको सामग्री प्रयोग गरेर आफ्ना मोडललाई प्रशिक्षण दिन पाउने हो भने व्यवसायहरूले पनि ती मोडलको अध्ययन वा डिस्टिलेसन गर्न पाउनुपर्ने तर्क गरेका छन्। डिस्टिलेसन भनेको एआई मोडलका उत्तरको विश्लेषण गरेर नयाँ तथा कम लागतको मोडल विकास गर्ने प्रक्रिया हो।

गत फेब्रुअरीमा एन्थ्रोपिकले चिनियाँ ओपन-सोर्स मोडलहरूले क्लाउड एआई क्लोडमा लाखौँ प्रम्प्ट पठाएर आफ्ना मोडल सुधार गरेको आरोप लगाएको थियो र अमेरिकी सरकारलाई निर्यात नियन्त्रण कडा बनाउन आग्रह गरेको थियो।

टेकक्रञ्चका अनुसार नाडेलाले सार्वजनिक डेटाबाट स्वतन्त्र रूपमा मोडल प्रशिक्षण गर्ने अधिकार राख्ने एआई कम्पनीहरूले अरूलाई आफ्ना मोडलको डिस्टिलेसन गर्न रोक लगाउनु विरोधाभासपूर्ण भएको बताएका छन्।

उनले विशेषगरी ग्राहकको प्रयोग र अन्तरक्रियाबाट सिक्ने अधिकार सुरक्षित राख्ने एआई कम्पनीप्रति चिन्ता व्यक्त गरेका छन्।

समाधानका रूपमा नडेलाले कम्पनीहरूले आफ्ना डेटा, प्रम्प्ट, प्रतिक्रिया र अन्य जानकारीमाथिको स्वामित्व कायम राख्नुपर्ने बताएका छन्। साथै, क्लाउडमा आफ्नै “प्रोप्राइटरी लर्निङ इन्भाइरोन्मेन्ट” निर्माण गर्न र आवश्यक पर्दा विभिन्न एआई मोडलबीच सजिलै परिवर्तन गर्न सकिने अर्केस्ट्रेसन लेयर प्रयोग गर्न सुझाव दिएका छन्।

यद्यपि उनले “ओपन सोर्स” शब्द स्पष्ट रूपमा प्रयोग गरेका छैनन्, उनको अभिव्यक्तिले त्यही दिशातर्फ संकेत गरेको विश्लेषण गरिएको छ।
उद्योगका अनुसार धेरै ठूला कम्पनीहरूले आफ्नै डेटा सेन्टर वा आन्तरिक पूर्वाधार (अन-प्रेमिस) मा ओपन-सोर्स एआई मोडल सञ्चालन गर्न थालेका छन्।

नेटवर्किङ तथा सुरक्षा सफ्टवेयर कम्पनी Solo.io की संस्थापक तथा सीईओ इडिट लेभिनका अनुसार ग्राहकहरू अहिले कम लागतमा आफ्नै नियन्त्रणमा रहने ओपन-सोर्स मोडलतर्फ आकर्षित भइरहेका छन्।

वेबसाइट प्लेटफर्म भर्सेल र एआई मोडल राउटिङ सेवा ओपनराउटरले पनि ओपन-सोर्स मोडलको प्रयोग तीव्र रूपमा बढिरहेको बताएका छन्। भेर्सेलका अनुसार गत महिना यसको एआई गेटवेमार्फत भएको कुल ट्राफिकमध्ये २९ प्रतिशत ओपन-सोर्स मोडलमार्फत सञ्चालन भएको थियो।

ओपनएआई र एन्थ्रोपिक दुवैमा लगानी गरेको माइक्रोसफ्टका प्रमुख नडेलाले कम्पनीहरूलाई प्रोप्राइटरी एआई मोडल प्रयोग गर्दा सावधानी अपनाउन सार्वजनिक रूपमा आग्रह गरेपछि ओपन-सोर्स एआई मोडलतर्फको आकर्षण अझ बढ्न सक्ने विश्लेषण गरिएको छ।

प्रकाशित: ३१ असार २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...