काठमाडौं ।
यूरोपेली आयोगले १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने र त्यसभन्दा माथिका नाबालिगका लागि पहुँचमा कडाइ गर्ने प्रस्ताव तयार गरिरहेको छ।
आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले सोमबार यस वर्षको सुरुमा आफूले गराएको बालबालिकाको अनलाइन सुरक्षासम्बन्धी अध्ययन सार्वजनिक गर्दै बालबालिकाका लागि कुनै न कुनै प्रकारको सामाजिक सञ्जाल प्रतिबन्ध चाँडै आउने संकेत दिइन्।
भोन डेर लेयनले ब्रसेल्सले उक्त प्रतिवेदन र त्यसका सिफारिसहरूलाई सावधानीपूर्वक समीक्षा गर्ने र “गर्मी यामपछि” प्रस्ताव प्रस्तुत गर्ने बताइन्। उनको अभिव्यक्तिबाट अष्ट्रेलिया, बेलायत लगायतका देशमा हालै लागू गरिएका जस्तै प्रकारको प्रतिबन्ध ल्याउने तयारी देखिएको छ।
टेलिकम्स डटकमका अनुसार बालबालिकाको अनलाइन सुरक्षासम्बन्धी आयोगको विशेष प्यानलका सह-अध्यक्ष तथा प्रतिवेदनका लेखक प्रोफेसर योर्ग फेगर्ट र डा. मारिया मेल्कियोरलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जाल खेलौना नभएको बताइन्।
उनले बालबालिकाले पहिलो स्मार्टफोन कहिले पाउने भन्ने निर्णय अन्ततः अभिभावकको हुने भए पनि बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न सुरु गर्नुपर्ने न्यूनतम उमेर निर्धारण गर्नुपर्ने विषयमा सहमति बनेको बताइन्। अहिलेको अवस्थाले ठूला प्रविधि कम्पनीलाई बालबालिकासम्म बिना रोकटोक पहुँच दिइरहेकाले अर्को पुस्तालाई मानसिक समस्या, लत र दुःखतर्फ धकेल्ने उनको भनाइ थियो।
कुन-कुन प्लेटफर्म प्रस्तावमा समावेश हुनेछन् भन्नेबारे उनले विस्तृत जानकारी दिइनन्। उनले मुख्य रूपमा सामाजिक सञ्जाल लक्षित हुने तर उमेरअनुसार अनुपयुक्त तथा लत लाग्ने विशेषता भएका अन्य डिजिटल सेवा पनि समेटिने बताइन्। उनले यसलाई “सामाजिक सञ्जाल प्लस” का रूपमा वर्णन गरिन्।
डिजिटल सर्भिसेज एक्टअन्तर्गत युरोपेली आयोगले टिकटक र मेटामाथि गरेको कारबाहीको पनि उनले उल्लेख गरिन्। केही दिनअघि मात्र आयोगले मेटासम्बन्धी प्रारम्भिक अनुसन्धान निष्कर्ष सार्वजनिक गर्दै इन्स्टाग्राम र फेसबुकको लत बढाउने डिजाइन उक्त कानुनको उल्लंघन भएको प्रारम्भिक संकेत देखिएको जनाएको थियो।
आयोगले लक्षित गर्ने सेवा प्रदायकको स्पष्ट परिभाषा तय गरेपछि प्रतिबन्धका विस्तृत सर्तहरू प्रस्ताव गर्नेछ। हालको योजनाअनुसार १३ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि प्रत्यक्ष अभिभावकीय निगरानीमा सीमित प्रयोगबाहेक पूर्ण प्रतिबन्ध र १३ देखि १८ वर्ष उमेर समूहका लागि चरणबद्ध व्यवस्था लागू गर्ने विषयमा छलफल भइरहेको छ।
भोन डेर लेयनले सवारीसाधन निर्माता कम्पनीले आफ्ना उत्पादन सुरक्षित बनाउनुपर्ने दायित्व हुने उदाहरण दिँदै बालबालिकाले आफैं सिटबेल्ट बनाउनुपर्ने वा अभिभावकले घरमै एयरब्याग जडान गर्नुपर्ने अपेक्षा नगरिने भएकाले ठूला प्रविधि कम्पनीले पनि आफ्ना सेवा सुरुदेखि नै सुरक्षित बनाउनु पर्ने बताइन्।
ठूला प्रविधि कम्पनीहरूले आफ्ना प्लेटफर्ममा बालबालिकाको सुरक्षाका लागि विभिन्न प्रतिबन्ध लागू गरेको दावी गर्न सक्ने भए पनि अन्य देशहरूमा जस्तै यस्ता दाबी मात्र ब्रसेल्सका नियामकलाई सन्तुष्ट पार्न पर्याप्त नहुने अपेक्षा गरिएको छ।
आयोगले करिब एक महिनाभित्र बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्ने प्रस्ताव अघि बढाउने अनुमान गरिएको छ।
आयोगका अनुसार यसको जिम्मेवारी नियामक, अभिभावक वा बालबालिकाभन्दा पनि यी प्लेटफर्म सञ्चालन गर्ने प्रविधि कम्पनीहरूमा रहन्छ।
विशेषज्ञहरूको प्रतिवेदनमा भनिएको छ, “आफ्ना सेवा सुरुदेखि नै सुरक्षित रहेको प्रमाणित नगरेसम्म सामाजिक सञ्जाल तथा अन्य डिजिटल सेवा प्रदायकहरूको पहुँच युरोपेली संघमा १३ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सीमित गरिनुपर्छ।”
प्रकाशित: ३० असार २०८३, मंगलवार