रूपान्तरणकारी पठनपाठनको आधारका लागि ‘सञ्चारशील कक्षाकोठा’

  • Technology Khabar | २६ असार २०८३, शुक्रबार
रूपान्तरणकारी पठनपाठनको आधारका लागि ‘सञ्चारशील कक्षाकोठा’

काठमाडौं ।

वरिष्ठ सञ्चारकर्मी डा रघु मैनालीको ‘सञ्चारशील कक्षाकोठा’ पुस्तक सार्वजनिक भएको छ। ‘सिकाइ समूह’द्वारा आज यहाँ आयोजित कार्यक्रममा शिक्षा क्षेत्रका जानकार प्रा डा विद्यानाथ कोइराला, साहित्यकार हरिहर तिमिल्सनाले पुस्तक सार्वजनिक गरेका हुन्।

डा मैनालीले त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार विषयमा ‘कक्षाकोठा शिक्षणमा सञ्चारको योगदान’ शीर्षकमा गरेको विद्यावारिधिको शोधप्रबन्धलाई परिमार्जनसहित पुस्तक प्रकाशन गरेका हुन्।

लेखक डा मैनालीका अनुसार पुस्तकले विद्यालयमा विद्यार्थीमैत्री, सहभागितामूलक र प्रभावकारी पठनपाठनको वातावरण कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयलाई केन्द्रमा राखेको छ ।

“पुस्तकको केन्द्रीय बहस विद्यमान शिक्षककेन्द्रित र विद्यार्थीकेन्द्रित दुवै प्रकारका सिकाइ पद्धतिले कक्षाकोठालाई द्वैत संरचनामा सीमित गरिरहेको अवस्थालाई परिवर्तन गर्दै सहनिर्माणमा आधारित अद्वैत कक्षाकोठा निर्माण गर्नु हो”, डा मैनालीले भने, “शिक्षक र विद्यार्थीबीच रहेको कृत्रिम दूरी हटाई अर्थपूर्ण संवाद र समझदारीमार्फत सिकाइलाई प्रभावकारी बनाउने पक्षमा पुस्तकले स्पष्ट वकालत गरेको छु ।”

कार्यक्रममा प्रभावकारी शिक्षण-सिकाइमा सञ्चारको भूमिका विषयमा विज्ञहरूबीच अन्तरक्रियात्मक मन्थनसमेत गरिएको थियो । वक्ताहरूले पछिल्लो समय कृत्रिम बौद्धिकता (एआई) प्रविधि र मोबाइल फोनको बढ्दो प्रयोगका कारण विद्यार्थीहरूको सिकाइ शैलीमा परिवर्तन आएको बताउँदै शिक्षकले परम्परागत घोकाइभन्दा सिर्जनात्मक, संवादमुखी र प्रविधिमैत्री शिक्षण विधि अपनाउनुपर्ने आवश्यकता औँल्याएका थिए।

वाणिज्यशास्त्र र पत्रकारिता एवं आमसञ्चार दुवै विषयमा उच्च शिक्षा हासिल गरेका डा मैनाली पत्रकारिताको अध्यापन र पाठ्यक्रम लेखनमा पनि संलग्न छन्। रेडियो सगरमाथाका संस्थापक र दक्षिण एसियामा सामुदायिक रेडियोका अभियन्ता मैनालीले नेपाल विद्याभूषण, प्रेस स्वतन्त्रता सेनानीलगायत सम्मानबाट सम्मानित छन्।

नेपाली परिवेशमा आधारित कक्षाकोठा सञ्चारका मौलिक उदाहरण, सञ्चारसम्बन्धी समस्या तथा तिनका व्यावहारिक समाधानलाई कथाशैली र दृष्टान्तमार्फत प्रस्तुत गरिएको पुस्तकको विशेषताबारे पनि छलफल गरिएको थियो । रासस

प्रकाशित: २६ असार २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार