काठमाडौं ।
नेदरल्यान्ड्सको सेनाले ड्रोन सफ्टवेयर विकासका लागि डच रक्षा प्रविधि कम्पनी इन्टेलिकसँग तीन वर्षे साझेदारी गर्दै करोडौं युरो लगानी गर्ने भएको छ।
नेदरल्यान्ड्सको रक्षा मन्त्रालय र इन्टेलिकले विभिन्न उत्पादकका मानवरहित प्रणालीलाई एकअर्कासँग मिलेर सञ्चालन गर्न सक्ने साझा सफ्टवेयर प्लेटफर्म विकास गर्ने लक्ष्य राखेको बताएका छन्।
रक्षा राज्यमन्त्री डेर्क बोसवाइकले युक्रेन युद्धबाट हार्डवेयर मात्र नभई सफ्टवेयर पनि उत्तिकै महत्वपूर्ण रहेको शिक्षा मिलेको बताए।
उनले विभिन्न ड्रोन प्रणालीलाई एकअर्कासँग मिलेर काम गर्न सक्ने बनाउँदा युद्ध सञ्चालन अझ प्रभावकारी हुने उल्लेख गरे।
यो साझेदारी इन्टेलिकको ‘नेक्सस’ कमाण्ड एन्ड कन्ट्रोल सफ्टवेयरमा आधारित हुनेछ। कम्पनीका अनुसार यो सफ्टवेयर गत वर्षदेखि युक्रेनको युद्धक्षेत्रमा प्रयोग हुँदै आएको छ।
इन्टेलिकका प्रमुख कार्यकारी अधिकृत माउरिट्स कोर्थाल्स आल्टेसले युरोपमा हाल ७०० भन्दा बढी ड्रोन निर्माता रहेको र यो संख्या निरन्तर बढिरहेको बताए।
उनका अनुसार अहिले रक्षा निकायका लागि मुख्य चुनौती नयाँ प्रविधिमा पहुँचभन्दा पनि विभिन्न प्रविधिलाई एकअर्कासँग मिलेर सञ्चालन गर्न सक्ने बनाउनु हो।
प्रकाशित: २१ असार २०८३, आईतवार