काठमाडौं ।
विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई सोमबार धरौटीमा रिहा गर्न आदेश दिएको छ।
अदालतको नारायण प्रसाद पौडेल. हेमन्त रावत तथा उमेश कोइराला सदस्य रहेको २ नम्बर इजलासले राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्याल र नेपाल एजेन्ट मणिन्द्रराज मल्लसँग जनही ५ लाख रुपैयाँ, निर्देशक सुनिलकुमार केसीसँग ४ लाख रुपैयाँ तथा कर्मचारी सोमेश थापा र विपिन प्रसाईंसँग जनही ३ लाख रुपैयाँ धरौटी माग गरेको हो।
यसबाहेक तुलसीप्रसाद आचार्य र राजाराम दाहाललाई साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ।
‘पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई प्रतिवादीहरु मध्येका तिर्थराज अर्याल, सुनील कुमार के.सी., सोमेश थापा र विपिन प्रसाईको पदीय हैसियत र विभिन्न समितिमा रही निजहरुले निर्वाह गरेको भूमिकाका साथै प्रतिवादी मध्येका मणिन्द्र राज मल्लको भूमिकासमेतलाई विचार गरी निज प्रतिवादीहरुबाट देहायबमोजिमको नगद वा सो बराबरको बैंक जमाना दिए लिइ निजहरुलाई तारिखमा रहनु। उक्त नगद धरौटी वा बैंक जमाना नदिए विशेष अदालत नियमावली, २०५० को नियम ३० को उपनियम (२) बमोजिम थुनुवा पूर्जी दिई थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाई दिनू’, फैसलामा उल्लेख छ।
प्रकाशित: १६ असार २०८३, मंगलवार