भन्सार छली ल्याइएका २४ लाख मूल्यका आईफोन तथा स्कुटर बरामद

  • Technology Khabar | १४ असार २०८३, आईतवार
भन्सार छली ल्याइएका २४ लाख मूल्यका आईफोन तथा स्कुटर बरामद
फाइल तस्बिर।

काठमाडौं ।

नियमित गस्तीमा रहेको प्रहरी टोलीले भन्सार छलेर भारतबाट ल्याइएका रु २४ लाख बराबरका मोबाइल सेट बरामद गरेको छ।

रुपन्देहीको ओमसतिया गाउँपालिका–४ सानो बालापुरबाट रु २३ लाख ९० हजार बराबरका विभिन्न मोडलका एप्पल कम्पनीका आईफोन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले ओमसतिया गाउँपालिका–४, सानो बालापुर क्षेत्रमा चेकजाँच गर्ने क्रममा लु. ५३ प ३३९८ नम्बरको स्कुटरमा ल्याइँदै गरेका विभिन्न मोडलका ३८ थान आईफोन बरामद गरेको हो।

प्रहरीलाई देख्नेबित्तिकै स्कुटर र सामान बेवारिसे अवस्थामा छाडेर संलग्न व्यक्ति फरार भएका प्रहरीले जानकारी दिएको छ।

बरामद गरिएका सामानमा एप्पल आईफोन १७ का २ थान, आईफोन १३ (२५६जीबी) का ९ थान, आईफोन (१२८जीबी) का १२ थान, आईफोन १४ प्रोका २ थान तथा आईफोन ११ (१२८जीबी) का १३ थान रहेका छन्।

मोबाइलहरूको अन्दाजी मूल्य रु. २२ लाख ९० हजार र स्कुटरको मूल्य रु. १ लाख गरी कुल रु. २३ लाख ९० हजार बराबरको सामान नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलहियामा राखिएको छ। घटनामा संलग्न फरार व्यक्तिको खोजतलास तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाई थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: १४ असार २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...