उद्यम सुरक्षा क्षेत्रमा एआई प्रयोग बढाउन आईबीएमले गर्यो ओपनएआईसँग साझेदारी

  • Technology Khabar | १० असार २०८३, बुधबार
उद्यम सुरक्षा क्षेत्रमा एआई प्रयोग बढाउन आईबीएमले गर्यो ओपनएआईसँग साझेदारी

काठमाडौं ।

प्रविधि कम्पनी आईबीएमले उद्यम (इन्टरप्राइज) सुरक्षा कार्यप्रवाहमा अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) क्षमताहरू एकीकृत गर्न ओपनएआईसँग साझेदारी गरेको घोषणा गरेको छ। तीव्र रूपमा विकसित भइरहेका साइबर खतरासँग जुध्न यो सहकार्य गरिएको कम्पनीले जनाएको छ।

साझेदारीको घोषणापछि आईबीएमको सेयर मूल्य आफ्टर–आवर कारोबारमा ३.६ प्रतिशतले बढेको छ।

सम्झौताअनुसार आईबीएम ओपनएआईको ‘डेब्रेक साइबर पार्टनर प्रोग्राम’मा सहभागी भएको छ। यसअन्तर्गत दुवै कम्पनीले सुरक्षामुखी एआई उपकरणलाई प्रत्यक्ष रूपमा व्यवसायिक सञ्चालनमा समावेश गर्नेछन्, जसले संस्थाहरूलाई सुरक्षा जोखिम पहिचान गर्न र न्यूनीकरण गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

साझेदारीको भागस्वरूप आईबीएमले नयाँ एप्लिकेसन सुरक्षा सेवा पनि सार्वजनिक गरेको छ। उक्त सेवाले ओपनएआईका साइबर क्षमताको प्रयोग गरी संस्थाहरूलाई सफ्टवेयरमा रहेका कमजोरी तथा सुरक्षा त्रुटिहरूलाई अझ छिटो र सटीक रूपमा पहिचान तथा प्रमाणीकरण गर्न मद्दत गर्नेछ।

रोयटर्सका अनुसार यो नयाँ सेवा ‘प्रोजेक्ट लाइटवेल’मा आधारित छ। गत महिना सुरु गरिएको उक्त पहलअन्तर्गत कम्पनीहरूलाई खुला स्रोत (ओपन सोर्स) सफ्टवेयरको सुरक्षा सुदृढ बनाउन इन्जिनियर र एआई उपकरण परिचालन गरिनेछ। यस परियोजनालाई आईबीएम र रेड ह्याटको ५ अर्ब डलरको प्रतिबद्धताले समर्थन गरेको छ।

प्रोजेक्ट लाइटवेलले कोड समीक्षा र कमजोरी सुधारका लागि ओपनएआईका साइबर क्षमतासहित अन्य अत्याधुनिक एआई मोडेलहरूको पनि प्रयोग गर्नेछ।

आईबीएम कन्सल्टिङका साइबर सुरक्षा सेवाका ग्लोबल म्यानेजिङ पार्टनर मार्क ह्युजेसले ओपनएआई डेब्रेक साइबर पार्टनर प्रोग्रामले उन्नत एआई क्षमताको अझ व्यापक पहुँच उपलब्ध गराएको बताए। उनका अनुसार यसले ग्राहकहरूको प्रणालीभित्रै जोखिमहरू छिटो पहिचान गर्न र आत्मविश्वासका साथ आवश्यक कदम चाल्न सहयोग पुर्‍याउनेछ।

प्रकाशित: १० असार २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...