काठमाडौं ।
स्पेसएक्सले यूरोपेली संघ (ईयू) को उपग्रह स्पेक्ट्रमसम्बन्धी प्रस्तावले यूरोपेली कम्पनीहरूका लागि छुट्याइने उपग्रह फ्रिक्वेन्सीलाई “व्यावहारिक रूपमा प्रयोग गर्न नसकिने” बनाउने दावी गरेको छ।
स्टारलिङ्कको मातृ कम्पनी स्पेसएक्सले ईयूको योजनाको कडा आलोचना गरेको हो।
गत महिना ब्रसेल्सले २ गिगाहर्ज मोबाइल स्याटेलाइट स्पेक्ट्रम (एमएसएस) ब्यान्डको भविष्यबारे लामो समयदेखि प्रतिक्षित योजना सार्वजनिक गरेको थियो। हाल इकोस्टार र भायासाटसँग रहेको लाइसेन्स आगामी मे महिनामा समाप्त हुने भएकाले त्यसअघि निर्णय गर्नुपर्नेछ।
टेलिकम्स डटकमका अनुसार प्रविधि सार्वभौमिकता, सुरक्षा र लोकतन्त्रसम्बन्धी कार्यकारी उपाध्यक्ष हीना भिर्कुनेनले स्पेक्ट्रमको एक तिहाइ हिस्सा सरकारी प्रयोगका लागि छुट्याउने प्रस्ताव गरेकी छन्।
यसमा महत्वपूर्ण सञ्चार, सुरक्षा तथा सैन्य प्रयोजन समावेश हुनेछन्। उक्त स्पेक्ट्रम एक मात्र अपरेटरलाई दिइनेछ र नेटवर्कलाई ईयूले सरकारी निकाय तथा उपग्रह ब्रोडब्यान्ड क्षेत्रका लागि योजना बनाएको आईरिस–२ उपग्रह प्रणालीसँग एकीकृत गर्नुपर्नेछ।
ईयूले अर्को एक तिहाइ हिस्सा यूरोपेली संघमा आधारित कम्पनीहरूको व्यावसायिक प्रयोगका लागि छुट्याउने योजना बनाएको छ भने बाँकी एक तिहाइ अन्य देशका कम्पनीहरूका लागि खुला राख्ने प्रस्ताव गरेको छ।
नयाँ उपग्रह नेटवर्क निर्माण जटिल र महँगो हुने भएकाले भिर्कुननले इकोस्टार र भायासाटको लाइसेन्स दुई वर्ष थप्ने सुझाव पनि दिएकी छन्, ताकि नयाँ सेवा विकास भइरहेका बेला स्पेक्ट्रम प्रयोगविहीन नहोस्।
बेलायतको दूरसञ्चार नियामक अफकमले पनि युरोपको अवस्थालाई हेर्नका लागि भायासाट र इकोस्टारको बेलायती लाइसेन्स ३ देखि ५ वर्षसम्म थप्ने प्रस्ताव हालै गरेको थियो।
यसअघि नै यी प्रस्तावहरूले स्टारलिङ्कजस्ता अमेरिकी निम्न कक्षीय (एलईओ) उपग्रह अपरेटरहरूका लागि धेरै अवसर नछोड्ने संकेत देखिएको थियो।
स्पेसएक्सले यी प्रस्तावले फ्रिक्वेन्सीलाई “व्यावहारिक रूपमा प्रयोग गर्न नसकिने गरी टुक्र्याउने” जोखिम रहेको जनाएको छ।
कम्पनीका अनुसार २ गिगाहर्ज ब्यान्डको एक भागलाई आईरिस–२ सँग एकीकृत गर्दा युक्रेनमा स्टारलिङ्क सेवामा हस्तक्षेप हुन सक्छ। साथै भविष्यमा आईरिस–२ ले पनि उपग्रह ब्रोडब्यान्ड सेवा उपलब्ध गराउने योजना भएकाले यूरोपेली उपभोक्ताले प्रत्यक्ष–उपकरण (डीटीडी) सेवाको समयमै लाभ लिन नपाउने जोखिम रहेको स्पेसएक्सको भनाइ छ।
ब्लूमबर्गका अनुसार स्पेसएक्सले ईयूको योजना अन्तर्राष्ट्रिय नियमसँग मेल नखाने तथा “यूरोपका अन्तर्राष्ट्रिय दायित्व र आर्थिक वास्तविकता” सँग समेत असंगत हुन सक्ने जनाएको छ।
यो विवादको सुरुआती चरणमै भए पनि यसले यूरोप र अमेरिकाबीचको सम्बन्ध कति कमजोर बन्दै गएको छ भन्ने देखाएको छ।
१० हजारभन्दा बढी उपग्रह कक्षामा सञ्चालन गरिरहेको स्टारलिङ्कले अन्य एलईओ अपरेटरहरूको तुलनामा ठूलो अग्रता हासिल गरेको छ। यसको सेवा विश्वका धेरै देशमा, विशेषगरी युरोपका विभिन्न बजारमा स्थलीय अपरेटरहरूसँगको साझेदारीमार्फत विस्तार गरिएको छ। यसको पछिल्लो पुस्ताका उपग्रहहरूले डीटीडी सेवा पनि समर्थन गर्न सक्छन्।
यद्यपि ईयूले २ गिगाहर्ज ब्यान्डको अधिकांश हिस्सा विदेशी कम्पनीहरूको नियन्त्रणमा जान नदिई युरोपको आफ्नै उपग्रह उद्योगलाई अघि बढाउने पक्षमा रहेको देखिन्छ, भले त्यसका लागि उसले विश्वकै पहिलो ट्रिलियन डलर सम्पत्तिका मालिक मानिने इलन मस्कको असन्तुष्टि नै किन नबेहोर्नु परोस्।
प्रकाशित: ९ असार २०८३, मंगलवार