सीएमएफले यो वर्ष नयाँ स्मार्टफोन सार्वजनिक नगर्ने

  • Technology Khabar | ७ असार २०८३, आईतवार
सीएमएफले यो वर्ष नयाँ स्मार्टफोन सार्वजनिक नगर्ने

काठमाडौं ।

सीएमएफले यो वर्ष नयाँ स्मार्टफोन सार्वजनिक नगर्ने भएको छ।

नथिङका सह–संस्थापक एकिस इभानुजेलाइडिसले सामाजिक सञ्जाल एक्समार्फत सीएमएफ को अर्को स्मार्टफोनबारे धेरै प्रश्न आएको भन्दै कम्पनीले यस विषयमा पारदर्शी हुन चाहेको बताएका छन्।

उनका अनुसार सीएमएफ ले सीएमएफ फोन प्रो २ को उत्तराधिकारी मोडेलमा काम गरिरहेको थियो। तर हाल मेमोरीको मूल्य बढेकाले सीएमएफ को मूल्य वर्गअनुसार उपयुक्त लागतमा वास्तविक सुधार भएको नयाँ फोन बनाउन सम्भव नभएको उनले बताए।

इन्ग्याजेटका अनुसार यही कारणले कम्पनीले यस वर्ष नयाँ सीएमएफ फोन सार्वजनिक नगर्ने निर्णय गरेको हो।

गत एक वर्षमा र्यामको मूल्य उल्लेखनीय रूपमा बढेको छ। कृत्रिम बुद्धिमत्ता (एआई) पूर्वाधार निर्माणका लागि ठूलो मात्रामा माग बढेपछि उत्पादकहरूले उत्पादन क्षमता त्यतैतर्फ केन्द्रित गरेका कारण आपूर्ति अभाव सिर्जना भएको बताइएको छ।

एप्पल र सामसङ इलेक्ट्रोनिक्सले पनि र्यामको लागत बढेकाले आगामी दिनमा मूल्य वृद्धि हुन सक्ने चेतावनी दिइसकेका छन्। त्यस्तै इन्टरनेशनल डाटा कर्पोरशन (आईडीसी) ले उच्च मूल्यका कारण यस वर्ष पीसी बजारको ढुवानी करिब १० प्रतिशतले घट्न सक्ने अनुमान गरेको छ।

सीएमएफ ले गत वर्ष अप्रिलमा फोन प्रो २ सार्वजनिक गरेको थियो। कम्पनीका अनुसार यो हालसम्मकै सबैभन्दा पातलो र हल्का सीएमएफ स्मार्टफोन थियो र एकपटक चार्ज गर्दा दुई दिनसम्म चल्न सक्ने दाबी गरिएको थियो।

फोन प्रो २ सार्वजनिक भएको केही महिनापछि नथिङ ले सीएमएफ ब्रान्डलाई भारत मुख्यालय रहेको स्वतन्त्र सहायक कम्पनीका रूपमा सञ्चालन गर्न थालेको थियो। भारत नथिङ को सबैभन्दा ठूलो बजार मानिन्छ।

नयाँ स्मार्टफोन नआए पनि इभान्जेलिडिसले सीएमएफले यस वर्ष धेरै नयाँ उत्पादन तथा केही पूर्ण रूपमा नयाँ श्रेणीका उपकरणहरू सार्वजनिक गर्ने योजना रहेको बताएका छन्।

प्रकाशित: ७ असार २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...