
काठमाडौं ।
एआईमार्फत पाठ्य विवरणबाट तस्बिर सिर्जना गर्ने कम्पनी मिडजर्नीले आफ्नो नयाँ परियोजनाको घोषणा गरेको छ। कम्पनीले केवल ६० सेकेन्डमा सम्पूर्ण शरीर स्क्यान गर्न सक्ने मेडिकल उपकरण विकास गरिरहेको जनाएको छ।
कम्पनीका लागि यो परियोजना निकै फरक भएकाले धेरैले सुरुमा यसलाई अप्रिल फूलको मजाक ठानेका थिए। तर मिडजर्नी स्क्यानर वास्तविक परियोजना भएको र कम्पनीले यसका लागि स्पा केन्द्रहरू समेत निर्माण गरिरहेको जनाएको छ, जहाँ मानिसहरूले गएर स्क्यान गराउन सक्नेछन्।
इन्ग्याजटका अनुसार घोषणामा मिडजर्नीले यो परियोजना कम्पनीका अघिल्ला उत्पादनहरूसँग सम्बन्धित नभएको स्वीकार गरेको छ। कम्पनीका अनुसार उसले “हामी कसरी फरक बन्न चाहन्छौं?” र “हामी के बन्न चाहन्छौं?” भन्ने प्रश्नको उत्तर खोजिरहेको थियो। त्यसको परिणामस्वरूप ‘मिडजर्नी मेडिकल’ सुरु गरिएको र स्क्यानर त्यसको पहिलो हार्डवेयर उत्पादन बन्ने भएको हो।
कम्पनीले आफ्नो ब्लगमा लेखेको छ, “हामीले एमआरआई जत्तिकै शक्तिशाली र स्पामा जानेजत्तिकै सहज केही बनाउने सपना देखेका थियौं, र आज त्यसतर्फको मार्ग सार्वजनिक गरिरहेका छौं।”
स्क्यानका क्रममा प्रयोगकर्ता एउटा प्लेटफर्ममा उभिनेछन्। त्यसपछि स्क्यानरले प्रति सेकेन्ड २ इन्चको दरले व्यक्तिलाई पानीभित्र डुबाउनेछ। शरीर आधा लाखभन्दा बढी साना वर्गाकार सेन्सर भएको घेराभित्रबाट गुज्रिनेछ। बालुवाको कणजत्रा आकारका यी सेन्सरहरूले अल्ट्रासोनिक तरंग उत्सर्जन गर्न र शरीरबाट फर्किने तरंगहरू रेकर्ड गर्न सक्नेछन्।
कम्पनीले यसलाई प्रतिध्वनि प्रयोग गरेर दिशा पत्ता लगाउने डल्फिनसँग तुलना गरेको छ। मिडजर्नीका अनुसार स्क्यान गर्दा व्यक्तिलाई हरेक दिशाबाट पाँच लाख साना डल्फिनले घेरेजस्तो अनुभव हुनेछ।
कम्पनीले स्क्यानपछि प्राप्त हुने नतिजालाई “मिलिमिटरको अंशसम्मको सटीक ३डी शरीर नक्सा” भनेको छ, जुन अहिलेको एमआरआईजस्तै देखिने तर करिब १०० गुणा छिटो हुने दावी गरिएको छ। मिडजर्नीको लक्ष्य स्क्यान प्रक्रिया ६० सेकेन्डभन्दा कम समयमा पूरा गर्नु हो, जबकि पूर्ण शरीर एमआरआई गर्न सामान्यतया ६० देखि ९० मिनेट लाग्ने गर्छ।
क्रिप्टो ब्रीफिङका अनुसार कम्पनीले यो उपकरण ह्यान्डहेल्ड अल्ट्रासाउन्ड उपकरण निर्माता बटरफ्लाइ नेटवर्कसँग मिलेर विकास गरिरहेको छ। मिडजर्नीले नोभेम्बर २०२५ मा बटरफ्लाइ नेटवर्कसँग लाइसेन्स सम्झौता गर्दै कम्पनीको ‘अल्ट्रासाउन्ड-अन-चिप’ प्रविधिको विशेष अधिकार प्राप्त गरेको थियो।
परियोजनाको नेतृत्व मिडजर्नीका उपभोक्ता हार्डवेयर परियोजना प्रमुख एडम अब्बासले गरिरहेका छन्। उनी २०२३ को अन्त्यमा एप्पलको भिजन प्रो परियोजनामा काम गरेपछि मिडजर्नीमा आबद्ध भएका थिए।
आगामी १२ महिनामा कम्पनीले आफ्ना एल्गोरिदम र स्क्यानरमा सुधार गर्ने, अनुसन्धान परीक्षण सञ्चालन गर्ने तथा दोस्रो पुस्ताको हार्डवेयर डिजाइनमा काम गर्ने जनाएको छ। कम्पनीले अर्को वर्ष सान फ्रान्सिस्कोमा स्क्यानरयुक्त पहिलो स्पा सञ्चालन गर्ने योजना बनाएको छ।
त्यसपछि कम्पनीले स्क्यानरको रोग पहिचान क्षमता अमेरिकी यूएस फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनबाट स्वीकृत गराउने लक्ष्य राखेको छ। सन् २०२८ सम्ममा थप सहरहरूमा विस्तार गर्ने र विशेष सिलिकन प्रयोग गर्ने तेस्रो पुस्ताको स्क्यानर सार्वजनिक गर्ने योजना रहेको कम्पनीले जनाएको छ। यसले अझ राम्रो तस्बिर गुणस्तर उपलब्ध गराउने अपेक्षा गरिएको छ।
मिडजर्नीले सन् २०३१ सम्म विश्वभर ५० हजार स्क्यानर उपलब्ध गराउने लक्ष्य राखेको छ।
कम्पनीले भनेको छ, “भविष्यमा पर्याप्त प्रारम्भिक इमेजिङ सम्भव भएमा विश्वले कुल मृत्युको ३० प्रतिशत र स्वास्थ्य सेवासम्बन्धी खर्चको ५० प्रतिशतसम्म बचाउन सक्ने सम्भावना छ।”
प्रकाशित: ६ असार २०८३, शनिबार