
काठमाडौं ।
सूचना तथा प्रसारण विभागले अनुमति पत्र स्वत खारेजमा परेको गोर्खा मिडिया नेटवर्क प्रा. लि.सहितका ७ ओटा प्रशारण संस्थाहरुलाई सरकारी बाँकी बक्यौता रकम तिर्न सूचना जारी गरेको छ।
गोर्खा मिडिया नेटवर्क प्रा.लि. राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित गितेन्द्र बाबु (जीबी) राई अध्यक्ष भई संचालनमा ल्याएको मिडिया कम्पनी हो। तत्कालिन समयमा ग्यालेक्सी फोके टेलिभिजनका नाममा गोर्खा मिडिया नेटवर्कले टिभी संचालन गरेको थियो। हाल उक्त टेलिभिजन बन्द रहेको छ।
विभागले राष्ट्रिय प्रसारण नियमावली, २०५२ को नियम १६ बमोजिमको म्याद भित्र नवीकरण नगराएको कारणले इजाजतपत्र वा अनुमतिपत्र स्वतः रद्द भएको उक्त प्रसारण संस्थाहरूले सूचना प्रकाशित मितिले सात दिनभित्र नियमानुसारको नवीकरणको लागि यस विभागमा सम्पर्क गर्न भनेको छ।
यसका साथै देखिएको बाँकी बक्यौत रकम समेत तिर्नुपर्ने नवीकरण तथा बेरूजु रकम दाखिला गर्ने सम्बन्धि सूचनामा उल्लेख छ।
“महालेखापरिक्षकको कार्यालयको पत्रमार्फत निर्देशन प्राप्त भए अनुसार देहाय बमोजिमको प्रसारण संस्थाहरूले ऐ. नियमावली बमोजिम प्राप्त गरेको इजाजतपत्र नवीकरण नगरी स्वतः रद्द भएको अवस्थामा प्रसारण कार्य गरी कारोबार गरी आम्दानी गरेको देखिएकोले ऐ. नियमावलीको नियम ११ बमोजिमको प्रसारण तथा वितरण शुल्क र सो मा लाग्ने जरिवाना दस्तुर दाखिला गर्न विभागको च.नः ४४३ मिति २०८२/०१/०८ को पत्रबाट जानकारी गराएकोमा उक्त रकम हालसम्म दाखिला गरेको नदेखिएकोले उक्त पत्र बमोजिमको रकम दाखिला गर्नहुन समेत अनुरोध छ,” सूचनामा उल्लेख छ।
उल्लेखित संस्थाहरुले लामो समयदेखि नवीकरण नगराएको देखिएको विभागले जनाएको छ।
यसरी बाँकी बक्यौता तिर्नुपर्ने सेवा प्रदायकहरुमा गोर्खा मिडिया नेटवर्क प्रा. लि., उपकार मिडिया ग्रुप प्रा. लि., बलभद्र मिडिया प्रा. लि., अन्नपूर्ण ब्रोडकाष्ट मिडिया प्रा. लि., सयपत्री मिडिया प्रा.लि., सोसाइटल मिडिया प्रा. लि. र टिम टेलिभिजन प्रा. लि. रहेका छन्।
नियामावलीअनुसार, तोकिए बमोजिमको म्याद भुक्तान भएपछि इजाजतपत्र वा अनुमतिपत्र नवीकरण गर्न आएमा पहिलो एक महिनासम्मको लागि दश प्रतिशत त्यसै गरी दोस्रो महिनासम्म बीस प्रतिशत, तेस्रो महिनासम्म तीस प्रतिशत, चौथो महिनासम्म चालीस प्रतिशत, पाँचौ महिनासम्म पचास प्रतिशत र छैठौ महिनासम्म शत प्रतिशत जरिबाना लिई नवीकरण गरिदिन सक्ने तथा उक्त अवधिभित्र ( ६ महिनाभित्र) पनि इजाजतपत्र वा अनुमतिपत्र नवीकरण नगराएमा त्यस्तो इजाजतपत्र वा अनुमतिपत्र स्वतः रद्द हुने व्यवस्था रहेको छ।
उक्त कम्पनीको नाममा काठमाडौँ महानगरपालिकाले समेत १५ दिने सूचना सार्वजनिक गरिसकेको छ। उक्त सूचनामा गोरखा मिडिया नेटवर्कले घरधनीलाई बुझाउनुपर्ने बहाल रकम बुझाई आफ्नो सरसमान लैजान र म्यादभित्र आफ्नो Galaxy 4K टेलिभिजन सम्बद्ध सरसमान लगी घर खाली गर्न भनिएको छ।
प्रकाशित: ४ असार २०८३, बिहीबार