माइक्रोसफ्टले स्न्यापड्रागन एक्स२ चिप्स सहितको सर्फेस प्रो र सर्फेस ल्यापटप लन्च गर्यो

  • Technology Khabar | ४ असार २०८३, बिहीबार
माइक्रोसफ्टले स्न्यापड्रागन एक्स२ चिप्स सहितको सर्फेस प्रो र सर्फेस ल्यापटप लन्च गर्यो
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

माइक्रोसफ्टले अब क्वालकमको स्न्यापड्रागन एक्स२ चिप्सद्वारा संचालित नयाँ सर्फेस प्रो र सर्फेस ल्यापटप लन्च गरेको छ। सर्फेस प्रो १३ इन्चको ल्यापटप प्लेटिनम, कालो र ड्युन रङ्गहरूमा आउने बताइएको छ। साथै ल्यापटपले “पूर्ण विन्डोजको क्षमताको साथ ट्याब्लेटको लचिलोपनलाई संयोजन गर्दछ” भनी कम्पनीले बताएको उल्लेख गरिएको छ।

सर्फेस प्रोको मूल्य १,४९९ अमेरिकी डलरबाट सुरु हुन्छ भने डिभाइसमा स्न्यापड्रागन एक्स२ प्लस (१० कोर) वा स्न्यापड्रागन एक्स२ एलिट (१२ कोर) प्रयोग गरिएको छ। डिभाइसमा १२०हर्ज सम्मको रिफ्रेस रेट भएको १३–इन्चको टचस्क्रिन (वैकल्पिक रूपमा ओएलईडी) रहेको छ। त्यसैगरी डिभाइसमा १६ देखि ६४जीबी र्याम, २५६जीबी देखि १टीबी स्टोरेज, वाई–फाई ७ समावेश गरिएको छ। डिभाइसमा रहेको ब्याट्रीको लाइफ १५.५ घण्टासम्मको स्थानीय भिडियो प्लेब्याकको लागि मूल्याङ्कन गरिएको छ। यदि प्रयोगकर्ताले र्याम र स्टोरेज जस्ता सबै कुरालाई अधिकतम बनाएको खण्डमा भने मूल्य ३,५४९ अमेरिकी डलर पुग्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

नयाँ सर्फेस ल्यापटप १३.८ इन्च र १५ इन्चमा उपलब्ध हुने बताइएको छ। सर्फेस ल्यापटप १३.८ इन्चको मूल्य १,५९९ र १५ इन्चको मूल्य १,६९९ अमेरिकी डलरबाट सुरु हुने उल्लेख गरिएको छ। साथै सर्फेस ल्यापटप १३.८ इन्चको ब्याट्री लाइफ २० घण्टासम्म र १५ इन्चको ब्याट्री लाइफ १९ घण्टाको लागि मूल्याङ्कन गरिएको छ। दुबै मोडेलहरूमा कलर–एक्युरेट एलसीडी स्क्रिनहरू रहेका छन् भने तिनीहरू प्लेटिनम, कालो र ड्युनमा रङ्गमा उपलब्ध हुनेछन्। त्यसैगरी १३.८ इन्चको संस्करण जेड कलरवेमा पनि उपलब्ध हुनेछ।

प्रयोगकर्ताले यी सबैलाई सर्फेस प्रो जस्तै एसओसी हरूसँग कन्फिगर गर्न सक्नेछन् भने र्याम विकल्पहरू पनि उस्तै भएको बताइएको छ। साथै १३.८ इन्च ल्यापटपको स्टोरेज २५६जीबी र १५ इन्च मोडेलको स्टोरेज ५१२जीबी बाट सुरु हुनेछ। त्यसैगरी दुवै ल्यापटपको स्टोरेज १टीबी सम्म विस्तार गर्न सकिनेछ। सानो ल्यापटपमा ३९वाट पावर सप्लाई रहेको छ भने ठूलोमा ६५वाट युनिट समावेश गरिएको छ।

यदि प्रयोगकर्ताले र्याम र स्टोरेज अधिकतम गरेको खण्डमा भने १३.८ इन्चको सर्फेस ल्यापटपको मूल्य ३,४४९ अमेरिकी डलरमा पुग्ने बताइएको छ। तर १५ इन्चको ६४जीबी/१टीबीको मूल्य विवरण भने सूचीले नदेखाएको उल्लेख गरिएको छ। यी सबै प्रोडक्टहरू माइक्रोसफ्टको अनलाइन स्टोरमा खरिद गर्न सकिने बताइएको छ।

प्रकाशित: ४ असार २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...