
काठमाडौं ।
पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन (पीएमडब्लूएस) सिजन ३ को उपाधि ट्रेन्ड्स टु किल (टीटुके)ले जितेको छ। ललितपुरको कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजमा शनिबार र आइतबार सम्पन्न प्रतियोगितामा टीटुकेले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भएको हो।
टीटुकेले १० खेलमा दुई वटा ‘विनर विनर चिकेन डिनर’ सहित कुल ११३ अंक जोड्दै उपाधि जितेको हो। विजेता बनेसँगै टोलीले ट्रफीसहित नगद रुपैयाँ ५० हजार प्राप्त गरेको छ।
प्रतियोगितामा द फोर इलिमेन्ट्स (टीफोरई) उपविजेता बन्यो। तीन वटा ‘चिकेन डिनर’ सहित १०४ अंक जोडेको टीफोरईले नगद रुपैयाँ २० हजार प्राप्त गर्यो। त्यसैगरी जेरो फियर ई–स्पोर्ट्स (जेडएफ)ले तीन वटा ‘चिकेन डिनर’ सहित ९७ अंक जोड्दै तेस्रो स्थान हासिल गर्यो र नगद रुपैयाँ १० हजार प्राप्त गर्यो।
प्रतियोगितामा विभिन्न विधाबाट छनोट भएका १६ टोलीको सहभागिता रहेको थियो। ग्लोबल ओपन सिरिज खेलेको चर्चित टोली टीटुके तथा सन् २०२२ को ग्लोबल च्याम्पियनसिपको सेकेन्ड रनरअप टोली एएसएललाई विशेष स्लट प्रदान गरिएको थियो। त्यस्तै, बंगलादेशको राष्ट्रिय च्याम्पियन टोली एवान् आरजीले पनि सहभागिता जनाएको थियो। एएसएल र एवान् आरजीले अनलाइनमार्फत प्रतिस्पर्धा गरेका थिए।
गर्ल्स क्वालिफायरबाट ६९ ई–स्पोर्ट्स र एएमजेडले स्थान बनाएका थिए भने बोइस क्वालिफायरबाट फोरडीएम, टीबीजी, जेडएफ, एसटी, औरा, टीफोरई र पाब्लो ई–स्पोर्ट्सले प्रतिस्पर्धा गरेका थिए। साथै वेस्टमिन्स्टर कलेजको इन्ट्रा कलेज पब्जी प्रतियोगिताबाट छनोट भएको एक टोलीले पनि शो डाउनमा प्रतिस्पर्धा गरेको थियो।
प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल प्लेयर (एमभीपी)’ को उपाधि टीटुकेका इग्नियसले जिते। उनले प्रतियोगिताभर २५ वटा इलिमिनेसन गर्दै उत्कृष्ट व्यक्तिगत प्रदर्शन गरेका थिए। उनलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।
प्रतियोगिताको व्यवस्थापन ई–स्पोर्ट्स हब अफिसियल तथा ब्रोडकास्ट पार्टनर मिथिकल ई–स्पोर्ट्स रहेको थियो। हरेक वर्ष आयोजना हुँदै आएको यस प्रतियोगितामा दर्शकहरूको पनि उत्साहजनक सहभागिता रहेको थियो। वेस्टमिन्स्टर कलेजले अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई पनि समान प्राथमिकता दिँदै आएको छ। कलेजले आगामी शैक्षिक सत्रहरूमा पनि यस्ता गतिविधिहरूलाई निरन्तरता दिने कलेजका इभेन्ट्स एण्ड इन्गेजमेन्ट म्यानेजर सुवार गौलीले जानकारी दिए।
प्रकाशित: २ असार २०८३, मंगलवार