
काठमाडौं ।
नेपाल टेलिकमले आफ्नो एसएमएस सेवाको दुरुपयोग गरी कनेक्टआईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक सन्देश पठाउने गतिविधि बढेको भन्दै ग्राहकलाई सचेत रहन आग्रह गरेको छ।
कम्पनीका अनुसार यस्ता भ्रामक एसएमएसमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको दावी गर्दै ग्राहकलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गर्ने गरिएको पाइएको छ।
नेपाल टेलिकमले ग्राहकलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंकप्रति सजग रहन अनुरोध गरेको छ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरण सुरक्षित राख्न कम्पनीले आग्रह गरेको छ।
कम्पनीले अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्न, ओटीपी, पासवर्ड, पिन, सीभीभीलगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्न र बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्न सुझाव दिएको छ।
त्यस्तै, शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थालाई तत्काल जानकारी गराउन पनि कम्पनीले अनुरोध गरेको छ।
ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै नेपाल टेलिकमले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहकलाई आग्रह गरेको छ।
प्रकाशित: १ असार २०८३, सोमबार