
काठमाडौं ।
जिल्ला सहकारी सङ्घ चितवनले साझा विद्युतीय सवारी साधन (इभी) चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ। पेट्रोलपम्प सञ्चालन गर्दै आएको सङ्घले चारओटा चार्जिङ उपकरणबाट आठ ओटा गाडी चार्ज गर्ने गरी स्टेसन सञ्चालनमा ल्याएको हो।
भरतपुर महानगरपालिका–१० मा रहेको आफ्नै परिसरमा चार्जिङ स्टेसन स्थापना गरिएको हो।
सङ्घका व्यवस्थापक विनोद खतिवडाका अनुसार रु एक करोड ५० लाखको लागतमा चार वटा सेन्टरमा आठ ओटा गाडी एक पटकमा चार्ज गर्न सकिने गरि विद्युतीय चार्जिङ उपकरण जडान गरिएको हो। १२० किलोवाटको क्षमता भएका उपकरण जडान गरिएका छन्। उनका अनुसार यी सेन्टरबाट छिटो चार्ज गर्न सकिने छ।
तोरीको तेल पेलेर बेच्दै आएको सङ्घले साझा पेट्रोलपम्प सञ्चालन गरेको थियो। डिजल पेट्रोलमा दैनिक रु ४० लाखको कारोबार हुने गरेको र तोरीको तेल मासिक ६ हजार लिटर खपत हुँदै आएको छ। यससँगै सेवाग्राहीलाई सुबिधा दिने उद्देश्यले चार्जिङ स्टेसन स्थापना गरिएको उनले बताए। सङ्घले अहिले ३० जना कर्मचारीलाई प्रत्यक्ष रोजगार दिँदै आएको छ।
विद्युतीय सवारीसाधन (इभी)को प्रयोगसँगै जिल्लामा चार्जिङ स्टेसन खुल्ने क्रम वढेको हो ।
नेपाल विद्युत् प्राधिकरणले भरतपुरको केन्द्रीय बसपार्कमा चार सवारीसाधनले एकै पटक चार्ज गर्न सक्ने गरी चार्जिङ स्टेसन स्थापना गरेको थियो । त्यसलगत्तै प्राधिकरणले मुग्लिङमा अर्को चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको थियो ।
अहिले बसपार्कमा उपकरण थप गरी १२ पुर्याईएको छ। एउटाले काम गरेको छैन भने बाँकी ११ ओटामा २२ ओटा गाडी चार्ज गर्न सकिने प्राधिकरणले जनाएको छ। यसबाहेक निजीस्तरबाट व्यावसायिक रूपमा विभिन्न स्थानमा ३१ स्टेसन सञ्चालनमा आएका छन् ।
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर मिलन सापकोटाका अनुसार प्राधिकरणका दुई स्थानमा र नीजि क्षेत्रका ३१ स्थानमा स्टेसन सञ्चालनमा ल्याइएको छ। यीबाहेक होटेल, रेस्टुरेन्टमा आफ्ना ग्राहकलाई सेवा दिने गरी चार्जिङ स्टेसन राख्नेहरू धेरै छन् । रासस
प्रकाशित: ३० जेष्ठ २०८३, शनिबार