
काठमाडौं ।
सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको मिति निर्धारण गरिएको छ।
लोक सेवा आयोगले सार्वजनिक गरेको सूचनाअनुसार अध्यक्ष पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये प्रारम्भिक छनोटमा परेका १० जनाको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता आगामी असार ४ र ५ गते सञ्चालन हुनेछ।
अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरूमा गोविन्दबहादुर भण्डारी, चिनामणि बराल, नवराज थपलिया, पुष्करराज गौतम, बुद्धिबहादुर केसी, यमप्रसाद उपाध्याय, मनोहरि थापा, लक्ष्मण हुमागाईं, विश्वराज खनाल र हेमन्तबहादुर रावल रहेका छन्।

सूचनाअनुसार असार ४ गते बिहान ८ बजे, बिहान ११ बजे र दिउँसो २ बजे गरी तीन चरणमा व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण हुनेछ भने सोही उम्मेदवारहरूको अन्तर्वार्ता असार ५ गते सोही समयमा सञ्चालन गरिनेछ।
कार्यक्रम लोक सेवा आयोगको केन्द्रीय कार्यालय, कमलपोखरीमा हुनेछ। उम्मेदवारहरूले आवेदनसँग पेश गरेका सम्पूर्ण कागजातहरूको सक्कल प्रतिलिपिसहित तोकिएको समयभन्दा कम्तीमा एक घण्टा अगाडि उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ।
सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष नियुक्तिसम्बन्धी कार्यविधि, २०८१ अनुसार प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ।
प्रकाशित: २९ जेष्ठ २०८३, शुक्रबार