
काठमाडौं ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौति दिएका छन्।
बिहीबार बसेको प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उक्त बैठकमा बीवाईडीका गाडीहरु बजेटको अघिल्लो दिन कर छली गर्दै भन्सार पास गरिएको प्रकरणमा छलफल भएको थियो।
नैतिकताको उच्च कडिमा उभिएर बनाएको छबि धमिल्याउन नियोजित रुपमा मानिसहरु लागेको र बदनाम गर्ने प्रयास गरेको उनले गुनासो गरे।
“दुई अर्व होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु,” अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भने, “यो नैतिकता अन्य कोही संसद वा राजनीति गर्नेहरुमा छ ?”
मन्त्री वाग्लेले गाडी आयातको प्रक्रिया असाध्यै लामो हुने र आजको भोलि नै फ्याक्ट्रीबाट गाडी आएर पास हुन नसक्ने बताएका थिए।
यसअघि समिति सदस्यहरुले बीवाईडी गाडीको कर छली प्रकरणमा संसदिय समितिमार्फत छानबिन गरिनुपर्ने माग गरेका थिए।
प्रकाशित: २८ जेष्ठ २०८३, बिहीबार