
काठमाडौं ।
विशेष अदालतले विद्यालयका लागि खरिद गरिएको आईसीटी ल्याब सामग्रीमा अनियमितता भएको आरोपमा दायर भ्रष्टाचार मुद्दामा प्रतिवादीहरूलाई सफाइ दिएको छ।
विदेह नगरपालिकाबाट धनुषास्थित शंकर जनता माध्यमिक विद्यालयका लागि आईसीटी ल्याब व्यवस्थापन गर्न आर्थिक वर्ष २०७६/७७, २०७८/७९ र २०७९/८० मा निकासा भएको कुल ४८ लाख ६१ हजार १५२ रुपैयाँ हिनामिना तथा दुरुपयोग गरिएको भन्ने अभियोग पुष्टि हुन नसकेको हिजो जेठ २६ गते भएको फैसलामा उल्लेख छ।
विशेष अदालतका सदस्य न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले आईसीटी ल्याबका सामग्री खरिद गरिएको पुष्टि हुने भ्याट बिल, विद्यालयको जिन्सी खातामा सामग्री आम्दानी बाँधिएको अभिलेख तथा सम्बन्धित आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनका आधारमा आरोप पुष्टि हुन नसकेको ठहर गरेको हो।
यससँगै अदालतले प्रतिवादी धनिकलाल ठाकुर, स्वर्गीय अरुणकुमार कुशियैतको हकमा निजकी श्रीमती कुमारी सरिता देवी कुशियैतसहितलाई आरोपित कसुरबाट सफाइ दिएको छ।
अदालतले धनुषा जिल्ला अदालतमार्फत गरिएको स्थलगत निरीक्षण प्रतिवेदनमा समेत आईसीटी ल्याबसम्बन्धी सामग्री सम्बन्धित विद्यालयमा मौज्दात रहेको उल्लेख गरिएको जनाएको छ।
प्रकाशित: २७ जेष्ठ २०८३, बुधबार