
काठमाडौं ।
निन्टेन्डोले २०२७ मा बदल्न मिल्ने ब्याट्री भएको स्विच २ को संस्करण सार्वजनिक गर्ने पुष्टि गरेको छ।
युरोपेली संघका नियमहरू पालना गर्ने योजनाबारे जानकारी दिँदै कम्पनीले २०२३ को “राइट-टु-रिपेयर” नीतिअनुसार आवश्यक उपायहरू लागू गरिरहेको र सोहीअनुसारका उत्पादन संस्करणहरू तयार गरिरहेको जनाएको छ।
युरोपेली संघको नियमअनुसार १८ फेब्रुअरी २०२७ देखि त्यहाँ बिक्री हुने केही इलेक्ट्रोनिक उपकरणका ब्याट्री प्रयोगकर्ताले सजिलै आफैं बदल्न सक्ने हुनुपर्छ।
निन्टेन्डोले स्विच २ को युरोपेली संघका नियमअनुरूपको संस्करण विकास गरिरहेको कुरा प्रत्यक्ष रूपमा उल्लेख नगरे पनि कम्पनीले “बीईई” बाट सुरु हुने मोडेल नम्बर भएका उत्पादनहरूको “भविष्यका नियमअनुरूप संस्करण” विकास गरिरहेको जनाएको छ। बीईई कोड स्विच २, त्यससँग सम्बन्धित हार्डवेयर, खेल तथा एक्सेसरीजका लागि प्रयोग हुने कोड हो।
बदल्न मिल्ने ब्याट्री भएका कन्सोलहरूको अलग मोडेल नम्बर हुनेछ र प्याकेजिङमा “ओएसएम” कोड देखिनेछ। नियामकीय प्रयोजनका लागि ती छुट्टै उत्पादनका रूपमा बिक्री गरिने भएकाले निन्टेन्डोले तिनलाई युरोपेली संघ बाहिर बिक्री नगर्ने सम्भावना रहेको छ।
कम्पनीले “एचएसी” उत्पादन कोड भएका उपकरणबारे कुनै जानकारी दिएको छैन, जसले स्विच १ का लागि यस्तै संस्करण ल्याउने योजना नरहेको संकेत गर्छ। पुरानो कन्सोललाई क्रमशः बजारबाट हटाउने दिशामा कम्पनी अघि बढिरहेकाले यो आश्चर्यजनक मानिएको छैन।
निन्टेन्डोले २०२५ मा स्विच २ सार्वजनिक गरेको थियो। यसमा पहिलो संस्करणको तुलनामा ठूलो स्क्रिन, बढी आन्तरिक स्टोरेज र उल्लेखनीय रूपमा राम्रो कार्यसम्पादन उपलब्ध गराइएको छ।
कम्पनीले नयाँ स्विच २ संस्करण कहिलेदेखि बिक्री सुरु गर्ने र यसको मूल्य कति हुने भन्नेबारे भने हालसम्म जानकारी दिएको छैन।
गत मे महिनामात्रै निन्टेन्डोले मेमोरी लागत वृद्धि तथा “बजार अवस्थाको परिवर्तन” लाई कारण देखाउँदै युरोपेली संघमा स्विच २ को मूल्य ४७० युरोबाट ५०० युरो पुर्याएको थियो।
प्रकाशित: २४ जेष्ठ २०८३, आईतवार