
काठमाडौं ।
नेपालमा तीव्र गतिमा बढिरहेको युवा जनशक्ति पलायनलाई रोक्न सूचना प्रविधि (आईटी) र कृत्रिम बुद्धिमत्ता (एआई) को क्षेत्रमा व्यापक रोजगारी सिर्जना तथा सीप विकास अपरिहार्य भएको सरोकारवालाहरूले बताएका छन्।
यसै सन्दर्भमा, देशकै अग्रणी प्रविधि संस्था टेक पाईला इनोभेसन्स (TechPaaila Innovations) ले पोखरामा एक विशेष समारोहका बीच आफ्नो गण्डकी प्रदेश स्तरीय कार्यालय तथा सेवाको औपचारिक शुभारम्भ गरेको छ।
कार्यक्रमका नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधि नेपालको आर्थिक समृद्धि, रोजगारी सिर्जना तथा डिजिटल रूपान्तरणका प्रमुख आधार भएको बताए।
उनले भने, “कक्षा १२ उत्तीर्ण हुनासाथ विदेशिने युवाको लर्को रोक्न नेपालमै ‘कमाउँदै, रमाउँदै र सिक्दै’ अघि बढ्ने वातावरण बनाउनुपर्छ। एआई कम्प्युट केन्द्र स्थापना गरेर युवा, विद्यार्थी र स्टार्टअपहरूलाई विश्वस्तरीय प्रविधिमा पहुँच दिन सके नेपाल दक्षिण एसियाकै डिजिटल हब बन्न सक्छ।”
यस्तै, क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा टेक पाईला इनोभेसन्सका एसोसिएट डाइरेक्टर चिरञ्जीवी अधिकारीले ‘सर्टिफिकेट’ भन्दा ‘सीप’लाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
अधिकारीले भने, “हामीले परम्परागत शिक्षा प्रणालीबाट माथि उठेर बजारको मागअनुसारको एआई, साइबर सुरक्षा (Cybersecurity) र डाटा साइन्स (Data Science) का व्यावसायिक कोर्षहरू भित्र्याएका छौँ। एआईले कसरी काम गर्छ भन्ने बुझ्नु मात्र पर्याप्त छैन, त्यससँगै आउने साइबर जोखिम न्यूनीकरण गर्न र सुरक्षित डाटा-ड्रिभन निर्णय लिन सक्ने जनशक्ति आजको आवश्यकता हो।”
सफ्टेक ग्रुपका चेयरपर्सन विज्ञान श्रेष्ठले एआई इन्जिनको विकास र स्वदेशी प्रविधिलाई बढावा दिन सरकारले स्टार्टअपहरूलाई कर छुट (Tax Rebate) र विशेष सहुलियत दिनुपर्ने माग गरे। सफ्टेक ग्रुप नेपाली युवाहरूको क्षमता अभिवृद्धिका लागि गुणस्तरीय र व्यावहारिक शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको उनले बताए।
कार्यक्रममा विभिन्न सूचना प्रविधि उद्यमी, नीति निर्माता, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ।
प्रकाशित: २३ जेष्ठ २०८३, शनिबार