
काठमाडौं ।
एन्थ्रोपिकले एआई प्रविधिको विकास भविष्यमा एआई प्रणालीहरू आफैंले आफ्नो उत्तराधिकारी प्रणाली विकास गर्न सक्षम हुन सक्ने सम्भावना देखिने गतिमा भइरहेको बताएको छ।
कम्पनीका अनुसार यस्तो अवस्था अहिलेसम्म नआएको भए पनि धेरै संस्थाहरूले तयारी गर्नुभन्दा छिट्टै आउन सक्ने सम्भावना छ। एक ब्लग पोस्टमा एन्थ्रोपिकले विज्ञान, स्वास्थ्य सेवा लगायतका क्षेत्रमा आफैंलाई विकास गर्न सक्ने एआईले विश्वका लागि ठूलो फाइदा पुर्याउन सक्ने बताएको छ।
तर यसले मानवले एआई प्रणालीमाथि नियन्त्रण गुमाउने जोखिम पनि बढाउन सक्ने चेतावनी दिएको छ।
यस जोखिमलाई कम गर्न एन्थ्रोपिकले विश्वव्यापी रूपमा एआई विकासको गति सुस्त बनाउने वा केही समयका लागि रोक्ने प्रस्ताव गरेको छ, ताकि सामाजिक संरचना र एआई समायोजनसम्बन्धी अनुसन्धानले प्रविधिको विकाससँग तालमेल राख्न सकोस्।
इन्ग्याजेटका अनुसार हाल एआई प्रतिस्पर्धाका प्रमुख कम्पनीहरूमध्ये एक रहेको एन्थ्रोपिक आफ्ना धेरै प्रतिस्पर्धीहरू अझै नाफामा नपुगेका बेला पहिलो पटक त्रैमासिक नाफा कमाउने दिशामा रहेको बताइएको छ। कम्पनीले हालै सार्वजनिक रूपमा सेयर निष्कासन (आईपीओ) का लागि अमेरिकी नियामक निकायमा आवश्यक कागजात दर्ता गरेको छ र वर्षको अन्त्यअघि सार्वजनिक कम्पनी बन्न सक्ने अपेक्षा गरिएको छ।
यद्यपि, आलोचकहरूले एन्थ्रोपिकले आफ्नै प्रविधिबारे व्यक्त गर्ने चेतावनीलाई बजार रणनीतिको रूपमा हेरेका छन्। उनीहरूका अनुसार कम्पनीले आफूलाई अन्य एआई कम्पनीभन्दा बढी जिम्मेवार देखाउन वा आफ्ना उत्पादनलाई उत्कृष्ट देखाउन यस्तो गरिरहेको हुन सक्छ।
विशेषगरी एन्थ्रोपिकले आफ्नो साइबर सुरक्षा केन्द्रित एआई मोडेल माइथोज सीमित साझेदारहरूलाई मात्र उपलब्ध गराएको निर्णयलाई आलोचकहरूले उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।
कम्पनीले कमजोरीहरू छिट्टै पत्ता लगाउन सक्ने यसको क्षमताको दुरुपयोग हुन सक्ने जोखिमका कारण सीमित पहुँच दिएको जनाएको थियो। तर आलोचकहरूले यसलाई उत्पादनप्रति उत्साह बढाउने वा ठूला कम्पनीहरूलाई मात्र बिक्री गर्न खोजिएको कदमका रूपमा व्याख्या गरेका छन्।
एन्थ्रोपिकले भने आफ्नो प्रस्ताव मार्चमा स्थापना गरिएको एन्थ्रोपिक इन्स्टिच्युटका अनुसन्धान निष्कर्षमा आधारित रहेको जनाएको छ। कम्पनीका अनुसार उक्त संस्थानको उद्देश्य उन्नत एआई प्रणाली विकासका क्रममा देखा पर्ने चुनौतीबारे विश्वलाई जानकारी गराउनु हो। संस्थानले आफ्ना साझेदारहरूसँग मिलेर विश्वसनीय रूपमा एआई विकास सुस्त पार्न वा रोक्न आवश्यक पर्ने प्रणाली र संयन्त्रबारे अनुसन्धान गर्नेछ।
एन्थ्रोपिकका अनुसार यदि एआई कम्पनीहरूले विकासको गति सुस्त बनाउने सहमति गरे भने सबैले वास्तवमै विकास रोकेका वा सुस्त बनाएका छन् भन्ने पुष्टि गर्न सक्ने संयन्त्र पनि आवश्यक हुनेछ। अन्यथा केही कम्पनीहरूले गोप्य रूपमा विकास जारी राखेर प्रतिस्पर्धीभन्दा अगाडि जान सक्नेछन्।
“अर्थपूर्ण सुस्ती वा रोकका लागि विभिन्न देशका अग्रणी र पर्याप्त स्रोत भएका धेरै प्रयोगशालाहरूले समान सर्तमा विकास रोक्न सहमति गर्नुपर्छ,” एन्थ्रोपिकले लेखेको छ। “साथै सबैले एकअर्काले वास्तवमै विकास रोकेका छन् भन्ने पुष्टि गर्न सक्नुपर्छ।”
कम्पनीका अनुसार यस्तो व्यवस्था विश्वभरका एआई कम्पनीहरूबीच सहमति भएमा मात्र सम्भव हुनेछ। यसले आणविक हतियारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिहरूलाई उदाहरणका रूपमा प्रस्तुत गरेको छ, यद्यपि त्यस्ता सम्झौताहरू बन्न दशकौं लागेको स्वीकार गरेको छ।
एआई विकास तीव्र गतिमा अगाडि बढिरहेको अवस्थामा त्यति लामो समय भने उपलब्ध नहुन सक्ने कम्पनीको भनाइ छ। यस विषयमा एन्थ्रोपिकले आगामी महिनाहरूमा नीति निर्माता, अनुसन्धानकर्ता तथा अन्य एआई कम्पनीहरूसँग छलफल गर्ने र त्यसका निष्कर्ष सार्वजनिक गर्ने योजना बनाएको छ।
प्रकाशित: २३ जेष्ठ २०८३, शनिबार