
काठमाडौं ।
टिकटकको माउ कम्पनी बाइटडान्सका संस्थापक झाङ यिमिङ एसियाका दोस्रो धनी व्यक्ति बनेका छन्। उनको कुल सम्पत्ति ९२.८ अर्ब अमेरिकी डलर छ।
उनले भारतका अर्बपति मुकेश अम्बानीलाई पछाडी पार्दै दोस्रो धनी व्यक्ति बनेका हुन् । अम्बानीको कुल सम्पत्ति ८६.९ अर्ब डलर छ।
अर्का भारतीय अर्बपति गौतम अदानी ११७.४ अर्बको कुल सम्पत्तिका साथ शीर्ष स्थानमा छन्। यो तथ्याङ्क फोर्ब्सको पछिल्लो श्रेणीकरणबाट लिइएको हो।
बाइटडान्सको एआई च्याटबोट, डुबाओले चीनमा ३० करोड मासिक सक्रिय प्रयोगकर्ताहरू पार गरेको छ, जसले गर्दा कम्पनीको मूल्याङ्कनमा उल्लेखनीय वृद्धि भएको छ।
यसैगरी, विश्वव्यापी रूपमा टिकटक एपको बढ्दो लोकप्रियता र यसको विज्ञापन राजस्वले झाङ यिमिङको सम्पत्तिमा वृद्धि भएको हो।
झाङ यिमिङको कुल सम्पत्ति सन् २०१९ मा केवल १३ अर्ब डलर थियो, भने अहिले सात गुणा बढेर ९२.८ अर्ब डलर पुगेको छ। उनी हाल चीनको सबैभन्दा धनी व्यक्ति पनि हुन्।
प्रकाशित: २२ जेष्ठ २०८३, शुक्रबार