न्यू ग्लेन रकेट यसै वर्षको अन्त्यअघि फेरि उड्छ: ब्लु ओरिजिन सीईओ

  • Technology Khabar | २० जेष्ठ २०८३, बुधबार
न्यू ग्लेन रकेट यसै वर्षको अन्त्यअघि फेरि उड्छ: ब्लु ओरिजिन सीईओ

काठमाडौं ।

ब्लु ओरिजिनका प्रमुख कार्यकारी अधिकृत डेभ लिम्पले कम्पनीको न्यू ग्लेन रकेट यसै वर्षको अन्त्यअघि फेरि उडान गर्ने बताएका छन्।

नासाका प्रशासक ज्यारेड इसाकम्यानले सीएनबीसी सँगको अन्तर्वार्तामा मे २८ मा विस्फोट भएको न्यू ग्लेनको प्रक्षेपण स्थल पुनःनिर्माण गर्न “निकै समय लाग्ने” र सन् २०२८ सम्मको समयसीमा पनि सम्भावनाभित्र रहेको बताएका थिए। तर ब्लु ओरिजिनका प्रमुख कार्यकारी अधिकृत लिम्पले भने मर्मत कार्य धेरै छिटो सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्।

“हामी यसै वर्षको अन्त्यअघि फेरि उडान गर्नेछौं। ग्राडाटिम फेरोसिटर,” उनले एक्समा लेखेका छन्।

मे २८ मा फ्लोरिडाको केप क्यानाभेरलस्थित ब्लु ओरिजिनको प्रक्षेपण स्थलमा न्यू ग्लेन रकेटको ‘हटफायर’ परीक्षणका क्रममा विस्फोट भएको थियो। कम्पनी चौथो मिसनको तयारी गरिरहेको बेला उक्त घटना भएको हो।

इसाकम्यानले मे २९ मा लन्च कम्प्लेक्स ३६ को भ्रमण गरी क्षतिको प्रत्यक्ष अवलोकन गरेका थिए र टोलीसँग छलफल गरेका थिए।

यसअघि तेस्रो मिसनमा पेलोडलाई कक्षामा स्थापित गर्न असफल भएपछि अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले न्यू ग्लेनको उडान स्थगित गरेको थियो। घटनाको अनुसन्धानपछि ‘क्रायोजेनिक चुहावट’ कारण रहेको निष्कर्ष निकालिएपछि कम्पनीले पुनः उडान अनुमति प्राप्त गरेको थियो।

मे २८ को विस्फोटको वास्तविक कारण भने अझै स्पष्ट भएको छैन। प्रक्षेपण स्थलमा पुनः पहुँच पाएर अनुसन्धान सुरु गरेपछि लिम्पले रकेटका इन्धन ट्याङ्कीहरू राम्रो अवस्थामा रहेको बताएका छन्। उनका अनुसार “सहायक टावरमा क्षति पुगेको छ, तर यसलाई भत्काएर नयाँ निर्माण गर्नुपर्ने अवस्था छैन। सोही स्थानमा मर्मत गर्न सकिन्छ।”

इन्ग्याजेटका अनुसार ब्लु ओरिजिनका लागि लन्च कम्प्लेक्स ३६ को छिटो मर्मत महत्वपूर्ण मानिएको छ। कम्पनी नासाको आर्टेमिस र मुन बेस कार्यक्रमका प्रमुख प्रक्षेपण सेवा प्रदायकमध्ये एक हो, र न्यू ग्लेनले नासाका लक्ष्य पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।नासाले यस वर्षको अन्त्यतिर प्रक्षेपण हुने मुन बेस–१ मिसनका लागि पनि ब्लु ओरिजिनलाई छनोट गरेको छ।

यसका साथै जेफ बेजोसकै स्वामित्वमा रहेको अमेजन पनि आफ्नो ब्रोडब्यान्ड सेवाका लागि लिओ उपग्रह प्रक्षेपण गर्न ब्लु ओरिजिनमा निर्भर छ। न्यू ग्लेनको चौथो मिसनले ४८ वटा लिओ उपग्रह कक्षामा लैजाने योजना थियो।

कम्पनीले क्यालिफोर्नियास्थित भ्यान्डेनबर्ग स्पेस फोर्स बेसमा अर्को प्रक्षेपण स्थल पनि विकास गरिरहेको छ, तर त्यो अझै तयार भइसकेको छैन। कम्पनीले हालै अमेरिकी सरकारसँग स्पेस लन्च कम्प्लेक्स–१४ (एसएलसी-१४) को भाडा सम्झौता गरेको छ।

तर उक्त स्थललाई प्रक्षेपणका लागि तयार गर्न करिब दुई वर्ष लाग्ने अनुमान गरिएको छ। त्यसैले भान्डेनबर्गको नयाँ प्रक्षेपण स्थल पनि सन् २०२८ अघि सञ्चालनमा आउने सम्भावना कम रहेको बताइएको छ।

प्रकाशित: २० जेष्ठ २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार