एआईको तीव्र वृद्धिलाई समर्थन गर्न पर्याप्त सीपीयू र जीपीयू मौज्दात छ: एनभिडिया सीईओ हुआङ

  • Technology Khabar | १९ जेष्ठ २०८३, मंगलवार
एआईको तीव्र वृद्धिलाई समर्थन गर्न पर्याप्त सीपीयू र जीपीयू मौज्दात छ: एनभिडिया सीईओ हुआङ

काठमाडौं ।

एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले मंगलबार कम्पनीसँग कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र वृद्धिलाई समर्थन गर्न पर्याप्त केन्द्रीय प्रशोधन इकाइ (सीपीयू) र ग्राफिक्स प्रशोधन इकाइ (जीपीयू) आपूर्ति रहेको बताएका छन्।

विश्वभरका प्रमुख डाटा सेन्टरहरूमा प्रयोग हुने यसको सेमिकन्डक्टरका कारण एआई बजारको अवस्थाको सूचक मानिने कम्पनीले आपूर्ति सम्बन्धी चुनौती भने अझै कायम रहेको स्वीकार गरेको छ।

ताइपेइमा आयोजित कम्प्युटेक्स सप्ताहका क्रममा भएको पत्रकार सम्मेलनमा हुआङले भने, “हामीले ती सबै प्रणालीहरूको अत्यन्त बलियो वृद्धिका लागि पर्याप्त आपूर्ति सुनिश्चित गरेका छौं।”

उनले थपे, “हामीसँग निकै बलियो वृद्धिका लागि पर्याप्त आपूर्ति छ, तर अझै पनि आपूर्तिमा सीमितता छ।” हुआङले यो टिप्पणी कम्पनीले एआई क्षमता सिधै व्यक्तिगत कम्प्युटरमा ल्याउने नयाँ चिप सार्वजनिक गरेको एक दिनपछि गरेका हुन्।

शरद ऋतुमा बजारमा ल्याइने एनभिडियाको नयाँ चिपले कम्पनीलाई एएमडी,इन्टेल र एप्पलजस्ता कम्पनीहरूसँग प्रतिस्पर्धामा उतार्नेछ। हुआङका अनुसार आटीएक्स स्पार्क पीसी चिप एआई युगका लागि पीसीलाई पुनःपरिकल्पना गर्ने उद्देश्यले माइक्रोसफ्ट सँगको सहकार्यको हिस्सा हो।

रोयटर्सका अनुसार ताइवानको दक्षिणी सहर ताइनानमा जन्मिएका हुआङले गत साता ताइवानमा वार्षिक करिब १५० अर्ब डलर लगानी गर्ने योजना घोषणा गरेका थिए। उनले ताइवानलाई एआई क्रान्तिको केन्द्रबिन्दुको रूपमा वर्णन गरेका छन्।

मंगलबारको पत्रकार सम्मेलनमा उनले ताइवान अमेरिकी उत्पादन क्षेत्रमा लगानी गरिरहेको भएकाले अमेरिकाका लागि रणनीतिक साझेदार रहेको बताए। कम्पनीले ताइवानमा लगानी जारी राख्ने र आपूर्ति शृंखलालाई सकेसम्म मजबुत बनाउने योजना बनाएको उनले बताए। “ताइवानको सम्पूर्ण इकोसिस्टमका लागि अहिले हामी कुनै पनि कम्पनीभन्दा ठूलो खरिदकर्ता हौं,” उनले भने।

एनभिडियाका एआई चिप अर्थात् जीपीयूहरूको उच्च मागले कम्पनीलाई दसौं अर्ब डलर आम्दानी दिलाएको छ र यसलाई विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बनाउन मद्दत गरेको छ।

हुआङले कम्पनीको भेरा डाटा सेन्टर सीपीयू यसको जीपीयूभन्दा पनि बढी लोकप्रिय हुने अपेक्षा व्यक्त गरे। जानकारी प्रशोधनमा सीपीयूको महत्वपूर्ण भूमिकाका कारण यसको माग उच्च रहने उनको भनाइ छ।

भेराले एएमडी र इन्टेलका डाटा सेन्टर चिपहरूसँग प्रतिस्पर्धा गर्नेछ। सोमबार कम्पनीका नवीनतम एआई उत्पादनहरू प्रस्तुत गर्दै हुआङले भने, “यो (भेरा सीपीयू) हाम्रो नयाँ प्रमुख वृद्धि चालक बन्नेछ।”

प्रकाशित: १९ जेष्ठ २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार