
काठमाडौं ।
इन्टरनेट सेवा प्रदायक कम्पनी वाई-फाई नेपालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीईओ) अन्तर्गत पोखरास्थित अमरसिंह माध्यमिक विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ।
विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि जगाउन, अनुशासनको भावना विकास गर्न तथा समुदायसँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।
विशेष कार्यक्रममा वाई-फाई नेपालका ब्रान्ड एम्बेसडर एवं नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काको विशेष उपस्थिति रहेको थियो। सार्वजनिक बिदाको दिन भएपनि उक्त कार्यक्रममा आफ्ना प्रिय क्रिकेटरलाई भेट्न र उनको प्रेरणादायी सन्देश सुन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता थियो।
विद्यार्थीहरूलाई प्रेरित गर्दै पूर्व कप्तान पारस खड्काले वाई-फाई नेपालको यो उदाहरणीय सामाजिक कार्यमा सहभागी हुन पाउँदा आफूलाई अत्यन्त खुसी लागेको बताउँदै समुदायप्रतिको उत्तरदायित्व निभाउँदै कम्पनीले समाजमा सकारात्मक प्रभाव सिर्जना गरिरहेको र विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि शिक्षाका साथै खेलकुद दुवैको समान महत्त्व हुने भएकाले पढाइ तथा खेलकुदबीच सही सन्तुलन कायम राख्न सम्पूर्ण विद्यार्थीहरूलाई आग्रह गरे। उनले नेपालभर यस्ता सामाजिक गतिविधिहरू अझ बढी आवश्यक रहेको बताए।
कार्यक्रममा बोल्दै वाई-फाई नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शत्रुहन पञ्जियारले विद्यालयलाई सहयोग गर्न पाउँदा गौरव महसुस भएको बताए। “शिक्षाले स्वस्थ मस्तिष्क निर्माण गर्छ भने खेलकुदले स्वस्थ शरीर” भन्दै उनले स्वस्थ शरीर र स्वस्थ मस्तिष्कको अन्तरसम्बन्धमाथि प्रकाश पारे।
साथै विद्यार्थीहरूको समग्र मानसिक तथा शारीरिक विकासका लागि यी दुवै पक्ष उत्तिकै आवश्यक रहेको बताउँदै वाई-फाई नेपालले आगामी दिनहरूमा देशका अन्य क्षेत्र र विद्यालयहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू विस्तार गर्ने योजना बनाएको उनले उल्लेख गरे।
त्यसैगरी विद्यालयका प्रधानाध्यापक बलराम पोखरेलले वाई-फाई नेपालप्रति हार्दिक आभार व्यक्त गरे। उनले निजी क्षेत्रबाट शिक्षा र खेलकुदको विकासमा प्राप्त हुने यस्ता सहयोगले विद्यार्थीहरूको मनोबल उच्च बनाउन ठूलो भूमिका खेल्ने उल्लेख गर्दै प्राप्त खेलकुद सामग्रीहरूको प्रभावकारी उपयोग गरिने विश्वास दिलाए।
आगामी दिनमा पनि शिक्षा, खेलकुद तथा सामुदायिक विकासका क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै देशभर गुणस्तरीय इन्टरनेट सेवा र डिजिटल पहुँच विस्तार गर्ने आफ्नो मूल लक्ष्यप्रति प्रतिबद्ध रहने कम्पनीले स्पष्ट पारेको छ।
प्रकाशित: १८ जेष्ठ २०८३, सोमबार