
काठमाडौं ।
सफ्टब्याङ्क ग्रुपले फ्रान्समा डाटा सेन्टर क्षमता विस्तार गर्न ७५ अर्ब यूरो (करिब ८७ अर्ब अमेरिकी डलर) सम्म लगानी गर्ने योजना सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार यो लगानीमार्फत थप ५ गिगावाटसम्मको डाटा सेन्टर क्षमता विकास र सञ्चालन गर्ने लक्ष्य राखिएको छ। योजनाको पहिलो चरणअन्तर्गत डनकर्क (लून–प्लाज), बोस्केल र बौचेनमा डाटा सेन्टर निर्माण गरिनेछ। यसबाट २०३१ सम्म हट्स-डी-फ्रान्स क्षेत्रमा ३.१ गिगावाट क्षमता उपलब्ध गराइने कम्पनीले जनाएको छ।
सफ्टब्याङ्क ग्रुप, जुन ओपनएआईको लगानीकर्ता तथा ग्राहक दुवै हो, ले यसलाई युरोपमा आफ्नो सबैभन्दा ठूलो एआई पूर्वाधार लगानी हुने बताएको टेकक्रञ्चले उल्लेख गरेको छ।
फ्रान्सका अर्थमन्त्री रोल्याण्ड लेस्क्युरले एक वक्तव्यमा यो घोषणालाई फ्रान्सलाई एआई मूल्य शृंखलाको सम्पूर्ण क्षेत्रमा अग्रणी गन्तव्य बनाउने राष्ट्रपति इम्यानुयल म्याक्रोंको महत्वाकांक्षाको प्रमाण भएको बताएका छन्।
अमेरिकामा भने वातावरणीय चिन्ता तथा डाटा सेन्टरहरूले विद्युत् सञ्जाल र उपयोगिता शुल्कमा पार्ने प्रभावबारे प्रश्न उठ्दै जाँदा डाटा सेन्टर निर्माणको विरोध बढिरहेको छ। यद्यपि, यसअघि सफ्टबैंकले ओहायोमा नयाँ ९.२ गिगावाट क्षमताको प्राकृतिक ग्यास विद्युत् केन्द्रबाट सञ्चालन हुने डाटा सेन्टर निर्माण गर्ने योजना पनि घोषणा गरेको थियो।
प्रकाशित: १८ जेष्ठ २०८३, सोमबार