भन्सार विभागले कस्टम्स भ्यालुएशन डाटाबेस सिस्टममा गर्यो अन्तर्राष्ट्रिय बजार मूल्य समावेश

  • Technology Khabar | १२ जेष्ठ २०८३, मंगलवार
भन्सार विभागले कस्टम्स भ्यालुएशन डाटाबेस सिस्टममा गर्यो अन्तर्राष्ट्रिय बजार मूल्य समावेश

काठमाडौं ।

भन्सार विभागले कस्टम्स भ्यालुएशन डाटाबेस सिस्टममा अन्तर्राष्ट्रिय बजार मूल्यसम्बन्धी सूचना समावेश गर्दै प्रणालीलाई थप प्रभावकारी बनाएको छ। अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले उक्त प्रणालीको औपचारिक शुभारम्भ गरेका हुन्। यो प्रणाली जेठ ११ गतेदेखि लागू भएको विभागले जनाएको छ।

विभागका अनुसार नयाँ प्रणालीमार्फत अन्तर्राष्ट्रिय बजार मूल्यसम्बन्धी विवरण सहज रूपमा हेर्न सकिने भएको छ। यसबाट भन्सार मूल्यांकन प्रणाली थप पारदर्शी, यथार्थपरक र प्रविधिमैत्री बन्ने विश्वास गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले प्रणाली कार्यान्वयनपछि अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा सकारात्मक प्रभाव पर्ने र भन्सार प्रशासन थप व्यवस्थित हुने बताएका थिए।

शुभारम्भ कार्यक्रममा अर्थ मन्त्रालयका सचिव, राजस्व सचिव, राजस्व व्यवस्थापन महाशाखा प्रमुख, भन्सार विभागका महानिर्देशक, उपमहानिर्देशक, एसियाली विकास बैंकका प्रतिनिधिसहित विभागका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

भन्सार विभागले यसअघि गत वैशाख ५ गते विराटनगर भन्सार कार्यालयबाट कस्टम्स भ्यालुएशन डाटाबेस सिस्टमको परीक्षण कार्यान्वयन सुरु गरेको थियो। त्यसपछि वैशाख १८ गतेदेखि आधुनिकीकरण प्रणाली कार्यान्वयनमा रहेका सबै भन्सार कार्यालयमा प्रणाली विस्तार गरिएको विभागले जनाएको छ।

विभागका अनुसार नयाँ प्रणालीले विश्व व्यापार संगठनअन्तर्गतको मूल्यांकनसम्बन्धी सम्झौता (GATT Valuation) को प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्नेछ। साथै पैठारी हुने वस्तुको कारोबार मूल्य निर्धारणलाई अझ वैज्ञानिक र विश्वसनीय बनाउन पनि प्रणालीले महत्वपूर्ण भूमिका खेल्ने विभागको विश्वास छ।

प्रकाशित: १२ जेष्ठ २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार