नेपालमा सामाजिक सञ्जालमा फैलिएको अफवाहको चीनद्वारा खण्डन

  • Technology Khabar | ११ जेष्ठ २०८३, सोमबार
नेपालमा सामाजिक सञ्जालमा फैलिएको अफवाहको चीनद्वारा खण्डन

काठमाडौं ।

काठमाडौंस्थित चिनियाँ दूतावासले“एक चिनियाँ नागरिकले नेपाली सञ्चारकर्मीहरूलाई घुस दिएर एक नेताविरुद्ध नकारात्मक समाचार लेखाउने प्रयास गरेको” भन्ने आरोपको खण्डन गरेको छ।

दूतावासको फेसबुक अकाउन्टमा प्रश्नोत्तर शैलीमा स्पष्टीकरण दिँदै दूतावासका प्रवक्ताले त्यस्ता अफवाहहरू फैलिएको देख्दा चिनियाँ पक्ष स्तब्ध भएको जनाएका छन्। “चीनलाई नियतवश बदनाम गर्ने त्यस्ता कार्यहरूको हामी कडा निन्दा गर्छौँ,” उनले भनेका छन्।

उक्त स्पष्टीकरणमा ‘अरू देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्त’ चीनले सधैँ पालना गर्दै आएको अनि ‘नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई निरन्तर समर्थन’ गर्दै आएको उल्लेख छ।

चीनले नेपालको राजनीतिक स्थिरता, आर्थिक विकास र जनजीविका सुधार गर्न सक्रिय रूपमा सहयोग गरेको भन्दै दूतावासले अहिले फैलिएका अफवाहहरूबारे “गम्भीर र गहिरो अनुसन्धान गर्न” अनि तिनमा प्रत्यक्ष संलग्न भएकाहरू एवम् अप्रत्यक्ष संलग्न पक्षलाई नेपाली कानुनअनुसार “गम्भीर दण्ड दिन” सम्बद्ध नेपाली अधिकारीहरूलाई आग्रह गरेको छ।

“तर्क र विवेकले अफवाह अन्त्य गरिदिऊन्। हामी सबै नेपाली मित्रहरूले सही र गलत छुट्ट्याउन अनि चीन र नेपालबीच विद्यमान परम्परागत मित्रता र सहकार्यलाई संवर्धन गर्न मिलेर काम गर्नुहुने छ भन्ने विश्वास गर्छौँ।”

बीबीसी नेपालीबाट

प्रकाशित: ११ जेष्ठ २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार