अपाङ्गता भएकालाई विपद् पूर्वसूचनाबारे सिकाइँदै

  • Technology Khabar | ७ जेष्ठ २०८३, बिहीबार
अपाङ्गता भएकालाई विपद् पूर्वसूचनाबारे सिकाइँदै

काठमाडौं ।

कैलालीको टीकापुर नगरपालिकाले अपाङ्गता (फरक क्षमता भएका) व्यक्तिहरुलाई विपद् पूर्वसूचना तथा विपद् व्यवस्थापनसम्बन्धी जानकारी दिन थालेको छ। पालिकाले पहिलो चरणमा ३५ अपाङ्गता भएका र उनीहरुका सहयोगी गरी ५६ जनालाई विपद्का समयमा पूर्वसूचना कसरी लिने भन्ने जानकारी दिएको हो ।

टीकापुर बाढीजन्य विपद््मा रहेको पालिका हो । यसबाहेक अन्य विपद्का बेला पनि कसरी सुरक्षित रहने, कस्को सहयोग लिने, सूचना कहाँकहाँबाट लिने भन्ने सिकाइएको छ।

विपद् सम्बन्धी सूचना स्थानीय पालिकामा रहेको स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र, मौसम पूर्वानुमान महाशाखा, रेडियो तथा टेलिभिजन, साइरन वा माइकिङ, मोबाइलमा आउने म्यासेज, सामाजिक सञ्जाल, अनलाइन सञ्चारमाध्यम, महिला स्वास्थ्य स्वयंसेविका, बडघर, भल्मन्सा, चिराकी, प्रहरी, टोल विकास संस्था, विपद् व्यवस्थापन समितिमार्फत सूचना लिन सकिने टीकापुर नगरपालिका वन वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले बताइन्।

“हामीले विपद् पूर्वसूचनाबारे जानकारी दिन नियमित रुपमा काम गर्दै आएको छौँ, पूर्वसूचनाले विपद्को क्षति कम गर्न सघाएको छ”, उनी भन्छिन्, “बाढीजन्य विपद्का बेला अपाङ्गता भएकालाई उद्धारमा कठिन हुने भएकाले उहाँहरु स्वयंलाई सचेत गराएमा समयमै उद्धार हुन्छ । उनीहरुका लागि आवश्यक सामग्रीसमयमै सुरक्षित राख्न सकिन्छ ।”

यस पालिकामा आगामी वर्षको योजनासमेत निर्माण भइरहेकाले अपाङ्गता भएकाहरुको समावेशीकरण, अपाङ्गमैत्री योजनामा प्राथमिकता दिन उनीहरुसँग छलफल चलाइरहेको चौधरीको भनाइ छ।

शिक्षक तथा कैलाली अपाङ्ग सेवा सङ्घमा आबद्ध दुर्गा खत्री विपद्का समयमा अपाङ्गता भएकालाई समयमै सूचना पाउन र सुरक्षित स्थानमा जान कठिन हुने भएकाले सूचनामा पहिलो प्राथमिकता दिन र अपाङ्गमैत्री संरचना बनाउन, सहयोगी वातावरण बनाउनुपर्ने बताउँछिन्। “विपद्का समयमा अपाङ्गता भएकाहरुको ज्यान जोखिममा हुन्छ, उद्धार तथा सुरक्षित स्थानान्तरणमा पनि समस्या हुन्छ”, उनी भन्छिन्, “पूर्वसूचना समयमै पाएमा आफ्नो ज्यान जोगाउनुका साथै सहायक सामग्री, आवश्यक सामान, औषधिसमेत सुरक्षित राख्न सहयोग हुन्छ ।”

होटल व्यवसायी महासङ्घका केन्द्रीय सदस्य निसात विक्रम बम हरेक संरचना अपाङ्गमैत्री हुनुपर्ने बताउँछन्। “विपद्का समयमा अपाङ्गता भएकालाई प्राथमिकता दिएर काम गर्नुपर्ने, सेल्टरहरु पनि अपाङ्गमैत्री बनाउनुपर्ने आवश्यकता छ”, उनी भन्छन, “दृष्टिविहीन, श्रवण अशक्त र शारीरिक अपाङ्गता जसले ह्विलचेयरको प्रयोग गर्नुहुन्छ, उहाँहरुलाई विशेष प्राथमिकता दिने योजना हुनुपर्छ ।”

टीकापुर नगरपालिकाको वन वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक तथा वडा नं ६ का वडाध्यक्ष बलिराम चौधरी विपद्मा पूर्वसूचना र तथ्याङ्क महत्वपूर्ण हुने भएकाले वडा नं ६ मा सबैको तथ्याङ्क लगिएको बताउँछन्। “कुन घरमा कति सदस्य छन्, उनीहरुको अवस्था के छ ? अपाङ्ग कति जना छन् भन्ने तथ्याङ्क लिएका छौँ”, उनले भने, “अब अन्य वडामा पनि तथ्याङ्क लिनुपर्छ। तथ्याङ्क भएमा विपद्का समयमा थोरै समयमा धेरै काम गर्न सकिन्छ ।”

टीकापुर नगरपालिकाबाट अपाङ्गता परिचयपत्र बनाउनेको सङ्ख्या एक हजार ४०० बढी छ। रासस

प्रकाशित: ७ जेष्ठ २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Proton opens its 11th showroom in Birgunj; launches the all-new Proton e.MAS 5

  • Technology Khabar
  • ७ जेष्ठ २०८३, बिहीबार