
एआईमार्फत् बनाइएको सांकेतिक तस्बिर
काठमाडौं ।
सार्क देशका विज्ञहरूले कृत्रिम बौद्धिकतालाई मानव सेवामा लगाउन यसको विवेकशील प्रयोगमा जोड दिएका छन्। राज्यले जतिसक्दो छिटो नीति बनाएर यसको दुरुपयोग रोक्नुपर्ने विज्ञको धारणा छ।
त्रिभुवन विश्वविद्यालयको आयोजना र एसियाली विकास बैङ्क तथा संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) को आर्थिक सहयोगमा बुधबारदेखि राजधानीमा सुरु भएको ‘उच्चशिक्षामा जिम्मेवार र नवप्रवर्तनात्मक कृत्रिम बौद्धिकताको नक्साङ्कन’ सम्बन्धी बहसमा विज्ञहरूले यस्तो बताएका हुन्।
कार्यक्रममा नेपालका साथै चीन, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्स, भूटानलगायत देशका प्रतिष्ठित विश्वविद्यालयका उपकुलपति, प्राध्यापक तथा अनुसन्धानकर्ताहरूको उपस्थिति रहेको छ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा सुशीलबहादुर बज्राचार्यले कृत्रिम बौद्धिकताको सचेत प्रयोग गरी उच्चशिक्षालाई थप गुणस्तरीय, प्रभावकारी तथा विश्वपरिवेश अनुरूपको बनाउनुपर्नेमा जोड दिए। उनले कृत्रिम बौद्धिकताको प्रयोगबारे प्राध्यापक र विद्यार्थीलाई दक्ष बनाई संस्थागत विकासमा केन्द्रित गर्नुपर्ने, अनुसन्धान दक्षता अभिवृद्धि गर्नुपर्ने र नीतिगत रूपमा सरकारले कृत्रिम बौद्धिकताको प्रयोगलाई सहज बनाउने नीति तथा कानुन निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे।
नेपालका लागि चीनका राजदूत छाङ म्याओमिङले कृत्रिम बौद्धिकताको विकासले मानवीय चिन्तन प्रणालीमा व्यापक परिवर्तन ल्याएको धारणा व्यक्त गर्दै कृत्रिम बौद्धिकताको दिगो प्रयोग र सम्भावित चुनौतीको सामना गर्न चीन सरकारले अनुसन्धानमा लगानी बढाएको बताए। उनले उच्चशिक्षामा कृत्रिम बौद्धिकताले अवधारणात्मक परिवर्तन ल्याएको उल्लेख गर्दै सबै मुलुकहरूले आपसी सहयोग र सहकार्यमार्फत प्रविधिको सकारात्मक र मानवउपयोगी प्रयोगमा जोड दिनुपर्ने धारणा राखे।
कार्यक्रममा ‘अनलाइन’ शिक्षासम्बन्धी अन्तरराष्ट्रिय संस्था नेपालको प्रारम्भ गरिएको छ। उक्त निकाय प्रारम्भ गर्ने सहमति पत्रमा निमित्त शिक्षाध्यक्ष प्राडा शङ्करप्रसाद खनाल र बी सियाओहान, युनेस्को उपनिर्देशकबीच हस्ताक्षर भएको थियो। रासस
प्रकाशित: ७ जेष्ठ २०८३, बिहीबार