
काठमाडौं ।
नेपाल टेलिकमले ताप्लेजुङको दुर्गम तथा विकट हिमाली गाउँ घुन्सामा फोरजी सेवा सञ्चालनमा आएको छ। कम्पनीले विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमशिखर कञ्चनजंघाको काखमा अवस्थित ताप्लेजुङको घुन्सा गाउँमा बुधबारदेखि फोरजी सेवा सञ्चालनमा ल्याएको हो।
नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएसँगै इन्टरनेट र टेलिफोनको समस्या रहेका दुर्गम गाउँहरु फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा र फलेमा इन्टरनेटको सुविधा पुगेको छ। घुन्सास्थित तीन हजार ८५० मिटर उचाइ रहेको डाँडामा फोरजी इन्टरनेटको टावर राखिएको छ।
प्रतिकूल मौसमकाबिच टावर निर्माण तथा आवश्यक प्रविधि जडानको कार्य सकिएपछि बुधबारदेखि फोरजी इन्टरनेट सेवा सञ्चालनमा आएको स्थानीय समाजसेवा मिङ्माडण्डु शेर्पाले जानकारी दिएका छन्। फोरजी इन्टरनेट सेवाले घुन्सा र फले गाउँसँगै कञ्चनजङ्घा भ्रमण गर्ने पर्यटकलाई सुविधा हुनेछ।
सेवा विस्तारले दुर्गम गाउँमा विद्युतीय माध्यमको शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, मनोरन्जन र सूचना आदानप्रदानको काम सहज हुने बताईएको छ।
कञ्चनजङ्घा हिमाल प्रवेशद्वार अर्थात प्रवेशविन्दु मानिने घुन्सा गाउँ तीन हजार ४७५ मिटरको उचाइमा रहेको छ।
हालसम्म सडकको पहुँच नपुगेको उक्त दुई हिमाली गाउँमा सञ्चालनमा आएको फोरजी सेवाले भने जीवनशैली र दैनिकीका लागि राहत मिल्ने अपेक्षा गरिएको छ।
प्रकाशित: २ जेष्ठ २०८३, शनिबार