
काठमाडौं ।
पठाओ नेपालका प्रबन्ध निर्देशक असीममान सिंह बस्न्यात बाहिरिएका छन्।
सन् २०१८ मा सञ्चालनमा आएको पठाओ नेपालले नेपालमा राइड–सेयरिङ सेवाको नयाँ संस्कृतिको स्थापना गरेको मानिन्छ। प्रारम्भिक चरणमा नियामकीय अस्पष्टता, बजारको अविश्वास र पूर्वाधारको अभावजस्ता चुनौतीका बीच बस्न्यातको नेतृत्वले कम्पनीलाई अघि बढाएको थियो।
उनको नेतृत्वमा पठाओले सेवा विस्तार मात्र नगरी शहरी जीवनशैलीमै परिवर्तन ल्याउने गरी राइड–सेयरिङ प्रयोगको बानी बसाल्यो। यसको जस बस्न्यातको नेतृत्वलाई नै जान्छ।
हाल पठाओ नेपाल काठमाडौँ उपत्यका र देशका सातै प्रदेशमा सञ्चालनमा छ। यसले हजारौं चालक साझेदारलाई रोजगारी तथा आम्दानीको अवसर उपलब्ध गराएको छ, जसले गिग अर्थतन्त्रको विस्तारमा समेत योगदान पुर्याएको छ।
पछिल्लो समय कम्पनी बहुआयामिक सेवातर्फ विस्तार हुँदै गएको छ। अब यो केवल सवारी सेवा मात्र नभई लामो दूरीका सवारी बुकिङ, सहरबीचको आवतजावत सेवा, खाना डेलिभरी, नेपाल भर पार्सल डेलिभरी र बजार प्लेटफर्मजस्ता सुविधासहित एकीकृत डिजिटल सेवा केन्द्रका रूपमा विकास हुँदै गएको छ।
कम्पनीले बस्न्यातको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै उनको आगामी यात्राका लागि शुभकामना दिएको जनाएको छ।
प्रकाशित: २४ बैशाख २०८३, बिहीबार