आफ्ना डिभाइसका मुख्य प्रोसेसर उत्पादनका लागि इन्टेल र सामसङसँग छलफल गर्दै एप्पल

  • Technology Khabar | २३ बैशाख २०८३, बुधबार
आफ्ना डिभाइसका मुख्य प्रोसेसर उत्पादनका लागि इन्टेल र सामसङसँग छलफल गर्दै एप्पल
फाइल तस्बिर

काठमाडौं ।

एप्पलले आफ्ना डिभाइसका मुख्य प्रोसेसर उत्पादनका लागि इन्टेल र सामसङ इलेक्ट्रोनिक्ससँग प्रारम्भिक छलफल गरेको ब्लूमबर्ग न्यूजले सोमबार स्रोतहरूलाई उद्धृत गर्दै जनाएको छ।

ब्लूमबर्गका अनुसार एप्पलका अधिकारीहरूले टेक्सासमा निर्माणाधीन सामसङ प्लान्टको भ्रमण गरेका छन् र छुट्टै रूपमा इन्टेलसँग पनि कम्पनीको चिप निर्माण सेवा प्रयोग गर्नेबारे प्रारम्भिक वार्ता गरेका छन्।

यो कदमले एप्पललाई आफ्नो दीर्घकालीन साझेदार ताइवान सेमिकण्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी बाहेक अर्को विकल्प दिन सक्छ। तर रिपोर्टअनुसार, आईफोन निर्माता एप्पललाई टीएसएमसी बाहेकको प्रविधि प्रयोग गर्दा विश्वसनीयता र उत्पादन क्षमताबारे चिन्ता पनि रहेको छ।

यो रिपोर्टलाई तत्काल स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको साथै एप्पल र सामसङले टिप्पणी अनुरोधमा तुरुन्त प्रतिक्रिया नदिएका र इन्टेलले टिप्पणी गर्न अस्वीकार गरेको रोयटर्सले उल्लेख गरेको छ।

रिपोर्टअनुसार सामसङ र इन्टेलसँगका छलफलहरू अझै प्रारम्भिक चरणमै छन् र अहिलेसम्म कुनै अर्डर दिइएको छैन। एप्पलले गत महिना नतिजा सार्वजनिक गर्दा चिप आपूर्तिमा निरन्तर समस्या रहने चेतावनी दिएको थियो। सीईओ टिम कूकका अनुसार, उन्नत प्रोसेसर चिपको आपूर्ति अभावका कारण उक्त त्रैमासमा आईफोन बिक्री प्रभावित भएको थियो।

आईफोन १७ सिरिजका चिपहरू हालका धेरै अग्रणी एआई चिपहरूमा प्रयोग हुने टीएसएमसी को उही प्रविधिको परिमार्जित संस्करणमा आधारित भएर निर्माण गरिएका छन्।

प्रकाशित: २३ बैशाख २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...