
काठमाडौं ।
एआईको बढ्दो प्रयोगका कारण पहिलो त्रैमासमा क्लाउड खर्च १२९ अर्ब डलर पुगेको छ। क्लाउड सेवा र पूर्वाधारमा उद्यमहरूको खर्च पहिलो त्रैमासमा पनि घट्ने कुनै संकेत देखिएको छैन।
सिनर्जी रिसर्चको पछिल्लो तथ्यांक अनुसार यो खर्च वार्षिक रूपमा ३५ प्रतिशतले बढेर १२८.६ अर्ब डलर पुगेको छ, जबकि पछिल्ला १२ महिनाको कुल आम्दानी ४५५ अर्ब डलर पुगेको छ।
वार्षिक वृद्धि दर बढेको यो लगातार नवौँ त्रैमास हो। सिनर्जीका अनुसार योभन्दा छिटो वृद्धि दर हेर्न यसअघि २०२१ को चौथो त्रैमासमा फर्कनु पर्छ त्यतिबेला बजार अहिलेको तुलनामा केवल ४० प्रतिशत मात्र थियो।
“पहिलो त्रैमासको बजार अहिले एक दशकअघिको भन्दा १५ गुणा ठूलो भइसकेको छ र अझै पनि वार्षिक ३५ प्रतिशत दरले विस्तार भइरहेको छ। आधा ट्रिलियन डलर नजिक पुग्नुले आईटी क्षेत्रमा क्लाउड कम्प्युटिङ र एआई को व्यापक प्रभाव देखाउँछ,” सिनर्जी रिसर्च ग्रुपका प्रमुख विश्लेषक जोन डिन्सडेलले भने।
टेलिकम्स डटकमका अनुसार ठूला तीन सार्वजनिक क्लाउड सेवा प्रदायक अमेजन वेब सर्भिसेज(एडब्लूएस), माइक्रोसफ्ट र गुगल क्लाउडले अझै पनि बजारको ६७ प्रतिशत हिस्सा ओगटेका छन्, जसमा तिनको हिस्सा क्रमशः २८ प्रतिशत, २१ प्रतिशत र १४ प्रतिशत छ।
तीनै कम्पनीले पहिलो त्रैमासका प्रभावशाली नतिजा सार्वजनिक गरेका छन्। गुगल क्लाउडको आम्दानी वार्षिक रूपमा ६३ प्रतिशतले बढेर २० अर्ब डलर पुगेको छ, जसको मुख्य कारण गुगल क्लाउड प्लेटफर्म (जीसीपी), इन्टरप्राइज एआई समाधान र एआई पूर्वाधार हुन्।
गुगल क्लाउडसँग ४६० अर्ब डलर बराबरको सम्झौता बाँकी छ, जबकि यसको इन्टरप्राइज एआई व्यवसाय जेमिनी इन्टरप्राइजमा मासिक सक्रिय भुक्तानी गर्ने प्रयोगकर्ताको संख्या ४० प्रतिशत ले बढेको छ।

यसका साथै गुगलको मूल कम्पनी अल्फाबेटकी सीएफण अनत आश्केनाजीले त्रैमासिक नतिजा सार्वजनिक गर्ने क्रममा कम्पनीले आफ्नो वार्षिक पूँजीगत खर्च अनुमान १७५–१८५ अर्ब डलरबाट बढाएर १८०–१९० अर्ब डलर पुर्याएको जानकारी दिइन्। “हामीले २०२७ मा हाम्रो पूँजीगत खर्च २०२६ को तुलनामा उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरेका छौँ,” उनले भनिन्।
एडब्लूएसमा पहिलो त्रैमासको आम्दानी २८ प्रतिशत ले बढेर ३७.६ अर्ब डलर पुगेको छ। क्लाउड र एआई ले पूँजीगत खर्च बढाउने मुख्य भूमिका खेले, जुन ४३.२ अर्ब डलर पुगेको छ। यसले कम्पनीलाई यस वर्ष २०० अर्ब डलर खर्च गर्ने लक्ष्यतर्फ अघि बढाएको छ।
माइक्रोसफ्टमा पनि यस्तै अवस्था देखिएको छ जहाँ क्लाउड आम्दानी २९ प्रतिशतले बढेर ५४.५ अर्ब डलर पुगेको छ। कम्पनीले क्लाउड र एआई माग पूरा गर्न ठूलो लगानी गरिरहेको छ, जसअनुसार पूँजीगत खर्च ४९ प्रतिशत ले बढेर ३१.९ अर्ब डलर पुगेको छ। माइक्रोसफ्टले २०२६ मा १९० अर्ब डलर खर्च गर्ने अपेक्षा गरेको छ।
भौगोलिक रूपमा हेर्दा सबै क्षेत्रमा वृद्धि देखिएको सिनर्जीले जनाएको छ। भारत, इन्डोनेसिया, आयरल्याण्ड, ताइवान, थाइल्याण्ड र मलेसिया जस्ता देशहरूमा विश्व औसतभन्दा बढी दरमा वृद्धि भएको छ। अमेरिका अझै पनि विश्वकै सबैभन्दा ठूलो क्लाउड बजार बनेको छ र त्यहाँ पनि पहिलो त्रैमासमा आम्दानी ३७ प्रतिशत ले बढेको छ।
आगामी दिनमा पनि यो वृद्धि जारी रहने अनुमान गरिएको छ। “हाम्रा पूर्वानुमानहरूले आगामी वर्षहरूमा पनि बलियो वृद्धि देखाउँछन्, जहाँ एआई ले प्रयोग बढाउने, नयाँ प्रयोगका क्षेत्र खोल्ने र क्लाउड कम्पनीहरूको आम्दानी बढाउने काम गर्नेछ,” डिन्सडेलले भने।
यद्यपि विगतको प्रदर्शनले भविष्यको नतिजा सुनिश्चित गर्दैन, तर ठूलो मात्रामा पूँजीगत खर्च र गुगल क्लाउडको विशाल अर्डर ब्याकलगका कारण क्लाउड खर्च अझै बढिरहने लगभग निश्चित देखिन्छ।
प्रकाशित: १८ बैशाख २०८३, शुक्रबार