
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालन गरिएको परियोजनाहरूबाट ब्रोडब्याण्ड सेवा जडान भएका स्थानीय तहको कार्यपालिकाको कार्यालयहरू र वडा कार्यालयहरूमा उपलब्ध गराइएको ब्रोडब्याण्ड सेवाको अवस्थाबारे जानकारी मागेको छ।
प्राधिकरणले आज एक विज्ञप्ति प्रकाशित गरी सम्बन्धित निकायसँग यस्तो जानकारी माग गरेको हो।
विज्ञप्ति अनुसार परियोजना अन्तर्गत तोकिएको दुई (२) वर्षको सेवा अवधि सकिएको छ।
यो अवस्थामा सेवा निरन्तरता भए/नभएको तथा उक्त परियोजना कार्यान्वयनका क्रममा संघीय संरचनामा भएको परिवर्तन समेतका कारण छुट हुन गएका स्थानीय तहको कार्यपालिकाको कार्यालयहरू र वडा कार्यालयहरूबाट हालको ब्रोडब्याण्ड सेवा सञ्चालनको अवस्थाको बारेमा प्राधिकरणले जानकारी माग गरेको हो।
स्थानीय तहले बुझाउनु पर्ने विवरण

‘विवरणहरू उपलब्ध गराउन यसअघि दुई पटक (प्रथम पटक मिति २०८१ / १२ / २८ गते र दोस्रो पटक मिति २०८२ / ०१ /२० गते ) सूचना प्रकाशन गरिएकोमा अधिकांश स्थानीय तहहरूबाट विवरण उपलब्ध हुन नसकेकोले सो विवरण उपलब्ध नगराएका स्थानीय तहहरूको हकमा यस सूचना प्रकाशित मितिबाट १५ कार्य दिनभित्र उक्त विवरण उपलब्ध गराई आवश्यक सहयोग गरिदिनुहुन सम्बन्धित स्थानीय तहहरूलाई यसै सूचना मार्फत पुनः अनुरोध गरिएको छ ‘, विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: १७ बैशाख २०८३, बिहीबार