विकल पौडेल र पत्नी बस्नेतका विरुद्ध ६८ करोड ९४ लाख रुपैयाँको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

  • Technology Khabar | १६ बैशाख २०८३, बुधबार
विकल पौडेल र पत्नी बस्नेतका विरुद्ध ६८ करोड ९४ लाख रुपैयाँको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

काठमाडौं ।

भ्रष्टाचार मुद्दामा थुनामा रहेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र उनकी श्रीमती एलिना बस्नेतको विरुद्धमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ।

राजस्व अनुसन्धान विभागले पौडेलको विरुद्धमा विदेशी मुद्रा अपचलन गरेर सम्पत्ति शुद्धीकरण गरेको भन्दै त्यसको विरुद्धमा अडसठ्ठी करोड चौरानब्बे लाख पैंसठ्ठी हजार दुई सय चार रुपैयाँ बिगोसहितको मुद्दा दायर गरेको हो।

विभागले अनुसन्धान तथा तहकिकात सम्पन्न गरी विकल पौडेल तथा निजको श्रीमती एलिना बस्नेतले विदेशी विनिमय अपचलन गरी कारोबार वैसट्ठी करोड पैँसट्ठी लाख एकानब्बे हजार आठ सय त्रियानब्बे रुपैयाँ विगो कायम गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम काठमाडौं जिल्ला अदालतमा २०८१ बैशाख १४ गते मुद्दा ( मुद्दा नम्बर ०८१-०२- ००५९) दायर भएकोमा त्यसबारेमा थप अनुसन्धान गरेको जनाएको छ।

उक्त सम्बद्ध कसूरबाट आर्जित सम्पत्ति सम्बन्धमा अनुसन्धान गर्दा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) को देहाय खण्ड (क), (ख) र (ग) मा उल्लिखित कार्यहरू गरेको तथ्य अनुसन्धानवाट स्थापित हुन आएकोले यी प्रतिवादी विकल पौडेललाई बिगो एकसट्ठी करोड तेह लाख एक्काईस हजार एक सय त्रिपन्न रुपैयाँ र निजको श्रीमती एलिना बस्नेतलाई विगो सात करोड एकासी लाख चवालिस हजार एकाउन्न रुपैयाँ गरी जम्मा अडसठ्ठी करोड चौरानब्बे लाख पैंसठ्ठी हजार दुई सय चार र पैसा सत्तरी मात्र विगो कायम गरी मुद्दा दायर गरेको विभागका निर्देशक सर्चित कुमार वाइबाले जानकारी दिए।

“सोही ऐनको दफा ३० को उपदफा (१) बमोजिम विगोको दोब्बर जरिवाना र कसूरको मात्रा अनुसार कैद सजाय हुन तथा ऐ.ऐनको दफा ३४ को उपदफा (१) र उपदफा (२) बमोजिम सम्बद्ध कसूर गरी आर्जित सम्पत्ति जफतको मागदावी लिई सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा २२ (२) वमोजिम यस विभागको अनुसन्धान प्रतिवेदन एवम् सोको राय बमोजिम जिल्ला सरकारी वकील कार्यालय काठमाडौमार्फत् मिति २०८३ | ०१।१६ मा सम्मानित काठमाडौ जिल्ला अदालत, बबरमहल, काठमाडौंसमक्ष अभियोग पत्र दायर भएको छ,” विभागले भनेको छ।

प्रकाशित: १६ बैशाख २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

मेटामाथि इयुको बालसुरक्षा आरोप

  • Technology Khabar
  • १६ बैशाख २०८३, बुधबार