
काठमाडौं ।
सामसङले यो वर्षको उत्तरार्धमा ग्यालेक्सी जेड फोल्ड८ र ग्यालेक्सी जेड फ्लिप८ अनावरण गर्ने अपेक्षा गरिएको छ।
वाइड (फराकिलो) आस्पेक्ट रेसियो भएको तेस्रो फोल्डेबललाई ग्यालेक्सी जेड फोल्ड८ वाइड वा केवल जेड फोल्ड वाइड भनिने सम्भावना रहेको छ भने यो डिभाइस पनि ग्यालेक्सी जेड फोल्ड८ र ग्यालेक्सी जेड फ्लिप८ सँगै लन्च हुने हल्ला छ। डिभाइसहरूको कथित डमी युनिटहरू अब अनलाइन देखा परेका छन्।
प्रसिद्ध लीकर सोनी डिक्सनले एक्समा ग्यालेक्सी जेड फोल्ड८, ग्यालेक्सी जेड फ्लिप८ र ग्यालेक्सी जेड फोल्ड८ वाइडको डमी युनिटहरूको तस्बिरहरू साझा गरेका छन्।
साझा गरिएका उक्त तस्बिरहरूले सामसङको आगामी फोल्डेबलहरू बीचको डिजाइन भिन्नताहरूलाई हाइलाइट गर्नुका साथै फोल्ड र अनफोल्ड गर्दाको दुवै अवस्थामा डिभाइसहरू देखाएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
ग्यालेक्सी जेड फोल्ड८ हालको ग्यालेक्सी जेड फोल्ड७ बाट धेरै हदसम्म अपरिवर्तित रहेको देखिन्छ र पहिलेका लीक गरिएका रेन्डरहरूसँग पङ्क्तिबद्ध भएको उल्लेख गरिएको छ।
ग्यालेक्सी जेड फ्लिप८ मा पनि यही कुरा लागू भएको र डिभाइस आफ्नो पूर्ववर्तीसँग धेरै हदसम्म समान रहेको अघिल्लो लीकहरूमा उल्लेख गरिको थियो। तर जेड फोल्ड८ भने आफ्नो पूर्ववर्तीको तुलनामा थोरै बाक्लो भएको अफवाह छ र कभर डिस्प्लेमा सानो पञ्च–होल कटआउट फिचर गर्न सक्ने बताइएको छ।
त्यसैगरी, ग्यालेक्सी जेड फोल्ड८ वाइड स्ट्याण्डर्ड जेड फोल्ड८ भन्दा छोटो र थोरै चौडा हुने उल्लेख गरिएको छ। हालैको लीकले डिभाइसको आयाम अनफोल्ड गर्दा १२३.९ × १६४.४ × ४.३ एमएम र फोल्ड गर्दा १२३.९ × ८२.२ × ९.८ एमएम रहेको देखाएको छ।
वाइड फोल्डेबलले बाहिरी स्क्रिनको लागि ४.७ः३ एसपेक्ट रेसियो प्रदान गर्ने अपेक्षा गरिएको छ भने भित्री डिस्प्लेले ४ः३ एसपेक्ट रेसियो प्रयोग गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित: १५ बैशाख २०८३, मंगलवार