नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै विश्व बौद्धिक सम्पदा दिवस मनाइँदै

  • Technology Khabar | १३ बैशाख २०८३, आईतवार
नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै विश्व बौद्धिक सम्पदा दिवस मनाइँदै

काठमाडौं ।

आज विश्व बौद्धिक सम्पदा दिवस हो। विश्वका विभिन्न देशमा यो दिवस नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै मनाइँदैछ।

प्रत्येक वर्ष अप्रिल २६ मा मनाइने यो दिवसको उद्देश्य नवप्रवर्तन, सिर्जनशीलता र बौद्धिक सम्पदाको संरक्षणप्रति चेतना अभिवृद्धि गर्नु हो।

विश्व बौद्धिक सम्पदा सङ्गठनको पहलमा सन् २००० देखि यो दिवस मनाउन थालिएको हो। संयुक्त राष्ट्रसङ्घको विशिष्टिकृत निकायका रूपमा रहेको यो संस्थाले विश्वव्यापी बौद्धिक सम्पदा सेवा, नीतिनिर्माण, सूचना आदान–प्रदान तथा अन्तरराष्ट्रिय सहकार्यलाई समन्वय गर्दै आएको छ।

उक्त संस्थाले सरकार, व्यवसाय तथा स्रष्टाहरूलाई सीमापार रूपमा बौद्धिक सम्पदाको संरक्षण र व्यवस्थापन गर्न सहयोग पुर्याउँदै विश्वभर नवप्रवर्तन र सिर्जनशीलता प्रवद्र्धनमा जोड दिँदै आएको छ।

सङ्गठनका अनुसार बौद्धिक सम्पदामा ‘कपीराइट, पेटेन्ट, ट्रेडमार्क’ र औद्योगिक ‘डिजाइन’लगायतका अधिकार समावेश छन्, जसले स्रष्टा, आविष्कारक तथा उद्यमीलाई आफ्नो सिर्जनाको संरक्षण र उपयोगको अधिकार प्रदान गरेको छ।

यो दिवसले विशेषगरी नवप्रवर्तन, प्रविधि र सिर्जनशील क्षेत्रमार्फत आर्थिक तथा सामाजिक विकासमा बौद्धिक सम्पदाको भूमिकालाई उजागर गरेको छ । यसबाट कला, सङ्गीत, साहित्य, प्रविधि तथा उद्योग क्षेत्रका स्रष्टा र नवप्रवर्तकहरूले बौद्धिक सम्पदामार्फत आफ्नो पहिचान स्थापित गर्नुका साथै आर्थिक लाभ लिन सक्ने अवस्था सृजना भएको छ।

विशेषज्ञहरूका अनुसार ‘डिजिटल’ युगसँगै बौद्धिक सम्पदाको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । अनधिकृत प्रयोग, नक्कली उत्पादन र डिजिटल चोरीजस्ता समस्यालाई नियन्त्रण गर्न प्रभावकारी कानुनी व्यवस्था र जनचेतना आवश्यक रहेको उनीहरूको भनाइ छ।

हाम्रो देशमा पनि बौद्धिक सम्पदासम्बन्धी कानुनी तथा नीतिगत सुधारको आवश्यकता औँल्याउँदै सरोकारभएकाहरूले स्रष्टा तथा नवप्रवर्तकलाई प्रोत्साहन गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। रासस

प्रकाशित: १३ बैशाख २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार