
काठमाडौं ।
ओपनएआईले प्रतिस्पर्धी कम्पनीको एआई मोडेल घोषणापछि एक हप्तामै जीपीटी-५.४-साइबर सार्वजनिक गरेको छ।
कम्पनीले मंगलबार जीपीटी-५.४-साइबरसार्वजनिक गरेको हो जुन यसको नयाँ फ्ल्यागशिप मोडेलको एक संस्करण हो र विशेष रूपमा साइबर सुरक्षा रक्षात्मक कामका लागि तयार गरिएको छ। यो घोषणा प्रतिस्पर्धी एन्थ्रोपिकले आफ्नो फ्रन्टियर एआई मोडेल माइथोज घोषणा गरेको एक हप्तापछि आएको हो।
अप्रिल ७ मा घोषणा गरिएको माइथोज एन्थ्रोपिकको “प्रोजेक्ट ग्लासविङ” अन्तर्गत प्रयोग भइरहेको छ, जहाँ छानिएका संस्थाहरूलाई अझै सार्वजनिक नगरिएको क्लोड माइथोज प्रिभ्यू मोडेल प्रयोग गरेर साइबर सुरक्षामा काम गर्न अनुमति दिइएको छ। यसले अपरेटिङ सिस्टम, वेब ब्राउजर र अन्य सफ्टवेयरमा हजारौँ ठूला कमजोरीहरू पत्ता लगाएको बताइएको छ।
रोयटर्सका अनुसार लोकप्रिय च्याटबट च्याटजीपीटी बनाएको ओपनएआईले जीपीटी-५.४-साइबरसुरुमा सीमित रूपमा विश्वसनीय सुरक्षा कम्पनी, संस्था र अनुसन्धानकर्तालाई मात्र उपलब्ध गराइने जनाएको छ, किनभने यसको डिजाइन केही बढी खुला प्रकृतिको छ।
कम्पनीले आफ्नो वेबसाइटमा राखेको पोस्ट अनुसार ट्रस्टेड एक्सेस फर साइबर कार्यक्रम पनि विस्तार गर्दै हजारौँ प्रमाणित व्यक्तिगत सुरक्षाकर्मी र महत्वपूर्ण सफ्टवेयर सुरक्षा गर्ने सयौँ टोलीलाई समेट्ने तयारी गरेको छ।
फेब्रुअरीमा सुरु गरिएको टीएसी कार्यक्रममा ओपनएआई ले नयाँ तहहरू थपिरहेको छ जहाँ उच्च स्तरको प्रमाणीकरण पाउने प्रयोगकर्ताले अझ शक्तिशाली क्षमताहरू प्रयोग गर्न पाउनेछन्। सबैभन्दा उच्च तहमा स्वीकृति पाउने प्रयोगकर्ताले जीपीटी-५.४-साइबरप्रयोग गर्न पाउनेछन्, जसमा कमजोरी खोज्ने र विश्लेषण गर्ने जस्ता संवेदनशील साइबर सुरक्षा कार्यका लागि कम प्रतिबन्धहरू हुनेछन्।
प्रकाशित: ४ बैशाख २०८३, शुक्रबार