यूट्युबले अब लाइभस्ट्रिमका बेला दर्शकको सहभागिता धेरै भएको समयमा विज्ञापन नदेखाउने

  • Technology Khabar | ३ बैशाख २०८३, बिहीबार
यूट्युबले अब लाइभस्ट्रिमका बेला दर्शकको सहभागिता धेरै भएको समयमा विज्ञापन नदेखाउने

काठमाडौं ।

यूट्युबले अब लाइभस्ट्रिमका बेला दर्शकको सहभागिता धेरै भएको समयमा विज्ञापन रोक्ने घोषणा गरेको छ। यसको उद्देश्य दर्शकहरुको माहोल सुरक्षित राख्न सकियोस् भन्ने हो।

कम्पनीले यसअघि विज्ञापन नहेर्न युट्युब प्रिमियम लिनुपर्ने व्यवस्था रहेको थियो। अब भने च्याटमा अत्यधिक सक्रियता देखिएमा वा दर्शकले सुपर च्याट, सुपर स्टिकर वा गिफ्टमार्फत समर्थन गरेमा सिस्टमले स्वतः विज्ञापन रोक्नेछ। गुगल अन्तर्गतको यूट्युबले ब्लग पोस्टमा च्याटमा ऊर्जा उच्च हुँदा सामूहिक अनुभवलाई जोगाउन यस्तो व्यवस्था गरिएको जनाएको छ।

कम्पनीका अनुसार यो परिवर्तनले सर्जकलाई बिना अवरोध दर्शकसँग जोडिरहन र लाइभको गति कायम राख्न सहयोग गर्नेछ।

त्यस्तै, दर्शकले सुपर च्याट, सुपर स्टीकर्स वा गिफ्ट किन्दा तुरुन्तै केही समयका लागि व्यक्तिगत रूपमा विज्ञापन नदेखिने सुविधा पनि पाइनेछ। सुपर च्याटमार्फत दर्शकले आफ्नो सन्देश हाइलाइट गर्न पैसा तिर्छन् भने सुपर स्टीकर्स विशेष चित्रहरू हुन् जसले च्याटमा सन्देशलाई आकर्षक बनाउँछ।

यूट्युबले लाइभ सिर्जनाकर्ताका लागि अन्य अपडेट पनि घोषणा गरेको छ। अब क्यानडा, कोरिया, इन्डोनेसिया, थाइल्याण्ड, अष्ट्रेलिया र न्यूजिल्याण्डका थप सिर्जनाकर्ताले पनि गिफ्ट सुविधा प्रयोग गर्न पाउने भएका छन्।

अब दर्शकहरूले मोबाइलबाट केवल ठाडो (vertical) मात्र होइन, तेर्सो (horizontal) लाइभस्ट्रिममा पनि जीआईएफ पठाउन सक्नेछन्।

साथै सिर्जनाकर्ताले एउटै समयमा ठाडो र तेर्सो दुवै फर्म्याटमा लाइभ गर्न सक्नेछन्, जसमा सबै दर्शक एउटै च्याटमा जोडिनेछन्। कम्पनीका अनुसार सन् २०२५ मा अमेरिकामा लाइभ हेर्ने समयको ३० प्रतिशतभन्दा बढी हिस्सा कनेक्टेड टिभीबाट आएको थियो।

यो परिवर्तन यूट्युब ले अमेरिकामा यूट्युब प्रिमियमको मूल्य बढाएको केही दिनपछि आएको हो। व्यक्तिगत योजना १३.९९ डलरबाट १५.९९ डलर प्रतिमहिना पुगेको छ भने परिवार योजना २२.९९ डलरबाट २६.९९ डलर प्रतिमहिना पुगेको छ।

प्रकाशित: ३ बैशाख २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार