
काठमाडौं ।
नेपालको अग्रणी ‘इन्टरप्राइज मेसेजिङ प्लेटफर्म’ स्प्यारो एसएमएसले आफ्नो स्थापनाको १६औँ वार्षिकोत्सव मनाएको छ। “सन्देश प्रवाहको १६ मिठो वर्ष” भन्ने नाराका साथ कम्पनीले एक स्टार्टअपदेखि राष्ट्रियस्तरको सञ्चार पूर्वाधार प्रदायकसम्मको आफ्नो यात्रा स्मरण गरेको छ।
हाल स्प्यारो एसएमएसले ८,००० भन्दा बढी व्यवसायहरूलाई सेवा प्रदान गर्दै वार्षिक ३५ करोडभन्दा बढी सन्देशहरू प्रवाह गर्दै आएको जनाएको छ।
कम्पनीको दावी अनुसार प्रतिकूल परिस्थितिलाई अवसरमा बदल्दै कम्पनीले लोडसेडिङको तालिका र एसईई (एसएलसी) को नतिजा तत्काल एसएमएसमार्फत उपलब्ध गराएर देशभर आफ्नो छुट्टै पहिचान बनायो।
व्यावसायिक सफलतासँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै स्प्यारो एसएमएसले वैदेशिक रोजगारमा हुने ठगी नियन्त्रणका लागि श्रम स्वीकृति जाँच, २०७२ को भूकम्पमा राहत सहजीकरण, र मानव बेचबिखन जोखिम रिपोर्टिङ जस्ता जनहितकारी परियोजनाहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। आज १६ वर्ष पुग्दा, यो ब्राण्ड केवल एक म्यासेजिङ सेवा मात्र नभई समाज र व्यवसायलाई जोड्ने एक विश्वसनीय आधार बनेको उल्लेख छ।
आफ्नो सेवालाई थप विस्तार गर्दै स्प्यारो एसएमएस अब आधिकारिक मेटा टेक प्रोभाइडरको रूपमा मान्यता प्राप्त गर्न सफल भएको छ।
यसले नेपाली उद्यमहरूलाई स्थानीय सहयोगका साथ ह्वाट्सएप बिजनेस एपीआई प्रयोग गर्ने बाटो खोलेको छ जसमा निम्न सुविधाहरू रहनेछन्:
● ब्लु टिक प्रमाणीकरण: ब्राण्डको आधिकारिकता र विश्वसनीयताका लागि।
● स्वचालित च्याट फ्लो: एआईद्वारा सञ्चालित व्यवसायिक कुराकानी।
● सिधा मेटा एकीकरण: द्रुत र सुरक्षित डिजिटल उपस्थिति।
आधिकारिक ‘भाइबर बिजनेस मेसेजिङ’ पार्टनर समेत रहेको स्प्यारो एसएमएसले अब नेपाली व्यवसायहरूका लागि एकै ठाउँबाट बहु-च्यानल सञ्चार सेवा उपलब्ध गराउने जानकारी दिएको छ।
“सोह्र वर्षअघि हामीले ‘सूचनामा पहुँच’ भन्ने एउटा सरल सोचका साथ यात्रा सुरु गरेका थियौँ। आज यो गौरवशाली कोसेढुङ्गा मनाउँदै गर्दा, हाम्रा ग्राहकहरूले हामीमाथि देखाउनुभएको अटुट विश्वास, हाम्रो टिमको निरन्तरको नवीनता र यो यात्रालाई असाधारण बनाउनुहुने सम्पूर्ण साझेदारहरूप्रति म निकै गर्व गर्दछु। भविष्यतर्फ अघि बढ्दै गर्दा, हामी सञ्चारको क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन पहिलेभन्दा अझ बढी प्रतिबद्ध छौँ”, स्प्यारो एसएमएसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज थापाले भने।
प्रकाशित: ५ चैत्र २०८२, बिहीबार