
काठमाडौं ।
संयुक्त राष्ट्रका महासचिव एन्तोनियो गुटेरेसले कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी नवगठित अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानललाई विश्वस्तरमा स्पष्ट नीति, सुरक्षा मापदण्ड र उत्तरदायित्वका आधार तय गर्न आह्वान गरेका छन्।
प्यानलको प्रारम्भिक बैठकलाई सम्बोधन गर्दै उनले कृत्रिम बुद्धिमत्ता अभूतपूर्व गतिमा विकास भइरहेको र यसले विश्व अर्थतन्त्र, श्रम बजार, शिक्षा, स्वास्थ्य, सञ्चार तथा शासन प्रणालीमा गहिरो र दीर्घकालीन प्रभाव पारिरहेको बताए। यस्तो तीव्र परिवर्तनशील प्रविधिको समग्र प्रभाव कुनै एक देश, कम्पनी तथा अनुसन्धान संस्थाले मात्र बुझ्न नसक्ने भएकाले विश्वव्यापी सहकार्य र वैज्ञानिक आधारमा साझा समझ निर्माण अपरिहार्य रहेको उनले उल्लेख गरे।
महासचिव गुटेरेसका अनुसार कृत्रिम बुद्धिमत्ताले शान्ति र सुरक्षादेखि मानवअधिकार तथा दिगो विकाससम्मका क्षेत्रमा अवसर र चुनौती दुवै सिर्जना गरेको छ । एकातिर यसले उत्पादकत्व वृद्धि, नवीन आविष्कार र सेवाको पहुँच विस्तार गर्न सक्छ भने अर्कोतर्फ दुरुपयोग, गलत सूचना प्रसार, गोपनीयता हनन तथा असमानता बढ्ने जोखिम पनि रहेको उनले चेतावनी दिए। त्यसैले यस प्रविधिको प्रयोग सुरक्षित, पारदर्शी, समावेशी र मानवकेन्द्रित हुनुपर्नेमा उनले जोड दिए।
नवगठित प्यानलले स्वतन्त्र र निष्पक्ष वैज्ञानिक मूल्याङ्कनका आधारमा विश्व समुदायलाई विश्वासयोग्य सल्लाह र सुझाव प्रदान गर्ने अपेक्षा गरिएको छ। प्यानलका सदस्यहरू व्यक्तिगत हैसियतमा कार्य गर्नेछन् र कुनै सरकार, निजी क्षेत्र तथा अन्य संस्थाको प्रभावमा नपरी स्वतन्त्र रूपमा अनुसन्धान र विश्लेषण गर्ने व्यवस्था गरिएको छ । उहाँहरुले कृत्रिम बुद्धिमत्ताको विकास, जोखिम व्यवस्थापन, नैतिक मापदण्ड तथा अन्तर्राष्ट्रिय सहकार्यका सम्भावित ढाँचाबारे सिफारिस तयार पार्नेछन् ।
संयुक्त राष्ट्र महासभाले ४० सदस्यीय यस प्यानल गठन गरेको हो, जसका सदस्यहरूको कार्यकाल तीन वर्षको रहनेछ। महासचिवले यस पहललाई मानवताका हितमा प्रविधिको उपयोग सुनिश्चित गर्ने ऐतिहासिक अवसरका रूपमा वर्णन गर्दै सबै देशलाई सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्। रासस/सिन्ह्वा
प्रकाशित: २१ फाल्गुन २०८२, बिहीबार