ह्वावेद्वारा आईटीयू पार्टनरटूकनेक्ट प्रतिबद्धता लक्ष्य पार गर्दै विश्वभर १७ करोड मानिससम्म कनेक्टिभिटी विस्तार

  • Technology Khabar | २० फाल्गुन २०८२, बुधबार
ह्वावेद्वारा आईटीयू पार्टनरटूकनेक्ट प्रतिबद्धता लक्ष्य पार गर्दै विश्वभर १७ करोड मानिससम्म कनेक्टिभिटी विस्तार

काठमाडौं ।

ह्वावेले ८० भन्दा बढी देशका दुर्गम क्षेत्रका १७ करोड मानिससम्म डिजिटल कनेक्टिभिटी पुर्‍याउँदै इन्टरनेशनल टेलिकम्युनिकेशन यूनियन (आईटीयू) को पार्टनरटूकनेक्ट डिजिटल कोएलिशन (पीटूसी) अन्तर्गत गरेको प्रतिबद्धता लक्ष्यलाई पार गरेको छ।

यो घोषणा ह्वावे आईसीटी बीजीका सीईओ याङ चाओबिनले बार्सिलोनामा आयोजित कम्पनीको टेक केयर्स फोरममा गरेका हुन्। सन् २०२२ मा आईटीयू पीटूसी डिजिटल कोएलिशनमा सहभागी हुँदा ह्वावेले सन् २०२५ सम्म १२ करोड मानिसलाई दुर्गम क्षेत्रमा कनेक्ट गर्ने प्रतिबद्धता जनाएको थियो। हाल १७ करोड मानिससम्म कनेक्टिभिटी विस्तार गर्दै कम्पनीले उक्त लक्ष्यलाई उल्लेखनीय रूपमा पार गरेको छ।

उद्घाटन मन्तव्यमा याङले एआईको तीव्र विकास भइरहेको भए पनि डिजिटल विभाजन अझै कायम रहेको र थप फराकिलो हुने जोखिम रहेको बताए।

“समावेशी र दिगो एआई युगका लागि उच्च–गतिको डिजिटल सञ्जाल र सशक्त कम्प्युटिङ क्षमता आधारभूत आवश्यकता हुन्,” उनले भने।

कम्पनीका अनुसार उनले आईटीयू पीटूसी प्रतिबद्धता पूरा गर्नु ह्वावेको नवप्रवर्तनप्रति निरन्तर प्रतिबद्धताको प्रमाण भएको उनले उल्लेख गरे जसले दुर्गम समुदायलाई स्वास्थ्य, शिक्षा र वित्तीय सेवामा पहुँच विस्तार गर्न सहयोग पुर्‍याएको छ।

आईटीयू दूरसञ्चार विकास ब्यूरोका निर्देशक कोस्मास जाभाजाभाले डिजिटल विभाजन कम गर्न ह्वावेले गरेको योगदानको प्रशंसा गरे। ग्रामीण तथा सेवा–विहीन समुदायलाई जोड्न नवप्रवर्तनशील व्यवसायिक मोडेल, समावेशी दृष्टिकोण, सञ्चार स्रोतको प्रभावकारी उपयोग र स्थानीय क्षमतामा निरन्तर लगानी आवश्यक रहेको उनले बताए।

ह्वावे पब्लिक अफेयर्स एण्ड कम्युनिकेशन्सका अध्यक्ष जेफ वाङका अनुसार डिजिटल समावेशीकरण दुई आधारमा टेकेको हुन्छ: समावेशी कनेक्टिभिटी र डिजिटल सीप सशक्तीकरण। डिजिटल सीप अभाव समाधान गर्न ह्वावेले सरकार र विभिन्न संस्थासँग सहकार्य गर्दै विद्यार्थी, युवा, ज्येष्ठ नागरिक र महिलाका लागि डिजिटल पहुँच विस्तार, सीप तालिम तथा स्टेम पाठ्यक्रम विकासका कार्यक्रम सञ्चालन गरिरहेको छ।

सन् २०१९ मा सुरु गरिएको ह्वावेको स्किल्स अन व्हील्स कार्यक्रममार्फत २१ देशका १,३०,००० भन्दा बढी मानिसलाई मोबाइल डिजिटल तालिम प्रदान गरिएको छ।

ग्रामीण सञ्जाल नवप्रवर्तनका सन्दर्भमा ह्वावेले सन् २०१७ देखि ग्रामीण श्रृङ्खलाको समाधानलाई निरन्तर स्तरोन्नति गर्दै आएको छ। नोभेम्बर २०२५ मा सुरु गरिएको ह्वावे रुरलकाउ समाधानले एमटीएन नाइजेरियाको सहकार्यमा करिब १,५०० जनसंख्या भएका गाउँसम्म सेवा विस्तार गरेको छ। यी समाधानहरूले १७ करोड मानिससम्म कनेक्टिभिटी पुर्‍याउने लक्ष्य हासिल गर्न सहयोग पुर्‍याएका छन्।

आगामी दिनमा ह्वावेले ग्रामीण सञ्जाल प्रविधिमा नवप्रवर्तनलाई निरन्तरता दिँदै खुला सहकार्य र डिजिटल सीप सशक्तिकरणलाई तीव्र बनाउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: २० फाल्गुन २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार